कृष्णभीरमा सडक ठप्प बनेपछि दुई वैकल्पिक मार्गमा सवारीको ‘जाम’

हिमाल प्रेस १८ भदौ २०८३ ६:२२ | Thursday, September 3, 2026
कृष्णभीरमा सडक ठप्प बनेपछि दुई वैकल्पिक मार्गमा सवारीको ‘जाम’ फाइल तस्बिर

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ ।

सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने हेटौँडा–काठमाडौँ यात्रामा अहिले पाँच घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

उनका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक सडक साँघुरो भएका कारण सवारी चापअनुसार विभिन्न स्थानमा केही समय रोकेर समूहगत रूपमा सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई भने प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ ।

चौध सिटसम्मका साना यात्रुवाहक सवारीसाधन हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँतर्फ सञ्चालन भइरहेका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउने साना सवारीसाधनलाई फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गबाट सञ्चालन गरिएको प्रहरी निरीक्षक विष्टले बताए ।

यसैबिच, काठमाडौँ उपत्यकामा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन १२ चक्कासम्मका मालवाहक सवारीसाधनलाई मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ सञ्चालन गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउने मालवाहक सवारीसाधनलाई भने ललितपुरको एकान्तकुना–छम्पी–टिकाभैरव हुँदै कान्ति लोकपथबाट सञ्चालन गरिनेछ । मालवाहक सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

दुवै मार्गमा ग्यास बुलेट सञ्चालन गर्न नदिने तथा ग्यास भरिएका सिलिन्डर बोकेका ट्रकलाई त्रिभुवन राजपथबाट सञ्चालन गरिने प्रशासकीय अधिकृत सुवेदीले बताए । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ आउजाउ गर्ने सवारीसाधन मकवानपुरका वैकल्पिक सडकमा केन्द्रित हुँदा पछिल्ला दिनमा ती मार्गमा सवारी चाप बढेको छ ।

प्रकाशित: १८ भदौ २०८३ ६:२२ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast