भोटेकोशी बाढीसँगै बगेका ९ शव भारतबाट नेपाल ल्याइयो

हिमाल प्रेस १७ भदौ २०८३ २१:१३ | Wednesday, September 2, 2026
भोटेकोशी बाढीसँगै बगेका ९ शव भारतबाट नेपाल ल्याइयो प्रतीकात्मक तस्बिर।

काठमाडौँ- भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका ९ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ।

भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो।

भारतीय प्रहरीले मंगलबार साँझ पाँच र बुधबार अपराह्न चार शव नेपाल ल्याएको हो। नेपाल ल्याइएका शवमा एक बालिकासहित चार महिला र पाँच पुरुष छन्। बेलहियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट शव फेला परेका हुन्। उक्त स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको उनले बताए।

बुधबार ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्षकी बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्षका युवक छन्।

पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवलाई सुरक्षित राखी पञ्चनामा तथा गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो। शवबाट डीएनएसहितका प्रमाण सुरक्षित राखिएको उनले जानकारी दिए।

प्रकाशित: १७ भदौ २०८३ २१:१३ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast