काठमाडौँ- भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि १६ हजार ६ सय किलो तरकारी पठाइएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भदौ १३ देखि १५ गतेसम्म सो तरकारी प्रभावित नागरिकलाई पठाएको हो।
भदौ १३ गते त्रिशूलीका लागि ५ हजार किलो हरियो तरकारी पठाइएको कृषि मन्त्रालयले जनाएको छ। भदौ १४ गते त्रिशूलीका लागि २ हजार ५ सय किलो सिमी, भेडे खुर्सानी, बन्दा, प्याज र आलु पठाइएको थियो। सोही दिन धादिङका लागि २ हजार ८ सय किलो हरियो तरकारी पठाइएको थियो ।
भदौ १५ गते धादिङका लागि १ हजार ३ सय किलो लौका, करेला, घिरौँला, बोडी, सिमी र फर्सी पठाइएको छ । सोही दिन धादिङका लागि थप २ हजार ५ सय किलो आलु, लौका, घिरौँला, काक्रो र टमाटर पठाइएको थियो ।
त्यसैगरी, भदौ १५ गते नै त्रिशूलीका लागि २ हजार ५ सय किलो लौका, करेला, घिरौँला, बन्दा, भण्टा लगायतका तरकारीसँगै चामल, कपडा र साबुनसमेत पठाइएको थियो।भदौ १३ देखि १५ गतेसम्म विभिन्न चरणमा गरी जम्मा १६ हजार ६ सय किलो तरकारी तथा खाद्य एवं आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्रीको पहुँच सुनिश्चित गर्न स्थानीय तह, कृषक, व्यवसायी तथा सम्बन्धित निकायबीचको समन्वयलाई निरन्तरता मन्त्री चौधरीले दिइन्।


