सर्वोच्च अदालत। फाइल तस्बिर
सुर्खेत- सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भनिएको प्रकरणमा थुनामा रहेका तीन बालकलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतका यसअघिका थुनछेक आदेश बदर गर्दै तीन बालकलाई अभिभावकको जिम्मा लगाएर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई तत्काल बाल सुधार गृहमा राखिरहनुपर्ने अवस्था नरहेको ठहर भएको छ।
उनीहरूलाई बाबु, आमा वा परिवारका जिम्मेवार सदस्यको जिम्मा लगाउन आदेश दिइएको छ। अर्का आरोपित परिवर्तित नाम वीरेन्द्रनगर (प) का हकमा भने सर्वोच्चबाट कुनै आदेश भएको छैन।
यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा मुख्य आरोपितसहित चारै जनालाई थुनछेक आदेशमार्फत बाल सुधार गृहमा पठाउने आदेश गरेको थियो। उक्त आदेशलाई उच्च अदालत सुर्खेतले २४ वैशाख २०८३ मा सदर गरेको थियो।
त्यसविरुद्ध वीरेन्द्रनगर (ध), (फ) र (न) का अभिभावक सर्वोच्च पुगेका थिए।
सर्वोच्चले ती तीन बालकले प्रहरी तथा अदालतसमक्ष बयानका क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गरेको, मुख्य आरोपित वीरेन्द्रनगर (प) ले समेत उनीहरूलाई घटनामा संलग्न रहेको भनी पोल नगरेको तथा घटनास्थल आसपासका सीसीटीभी फुटेजको विश्लेषणबाट तत्काल पुर्पक्षका लागि बाल सुधार गृहमा राख्नुपर्ने अवस्था नदेखिएको आधार लिएको छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुर्पक्षका लागि बाल सुधार गृहमा राख्नुपर्ने अवस्था विद्यमान नरहेको सर्वोच्चको आदेशमा उल्लेख छ।
यद्यपि थुनामुक्त भए पनि मुद्दा किनारा नलागेसम्म ती बालकलाई अदालतले खोजेका बखत अनिवार्य रूपमा उपस्थित गराउनुपर्नेछ।
साथै, अदालतको पूर्वअनुमति नलिई देशबाहिर जान नपाउने गरी सर्वोच्चले आदेश दिएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारसँग बस्दै आएकी थिइन्।
२०८२ फागुन २३ गते बिहान ६ बजे ट्युसन जाने भन्दै घरबाट निस्किएकी उनी करिब ९ बजे वीरेन्द्रनगर–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्।
प्रहरीले उनलाई तत्काल प्रदेश अस्पताल सुर्खेत पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले सोही दिन उनका प्रेमी भनिएका १६ वर्षीय नाबालक वीरेन्द्रनगर (प) लाई नियन्त्रणमा लिएको थियो।


