रसुवाको धुन्चेबाट जिल्लास्थित विभिन्न स्थानमा बाढी प्रभावितहरूलाई वितरण गर्न हेलिकप्टरबाट राहत सामाग्री लगिँदै। तस्बिर : रासस
काठमाडौँ- रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले गहिरो दुःख व्यक्त गरेको छ।
नेपासले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित बालबालिका, उनीहरूका परिवार र समुदायसँग आफूहरू साथमा रहेको नेपासले जनाएको छ।
उद्धार तथा राहतमा सक्रिय नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेवक, नागरिक समाज तथा विभिन्न व्यक्ति र संस्थाको प्रयासको प्रशंसा गर्दै नेपासले विपद्को संवेदनशील अवस्थामा छिटो र समन्वित मानवीय सहयोग आवश्यक रहेको जनाएको छ।
प्राकृतिक विपद्का समयमा बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने समूह भएकाले उनीहरूको स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान दिन नेपासले आग्रह गरेको छ। विस्थापन, सुरक्षित खानेपानी तथा पोषणको अभाव, संक्रमणजन्य रोगको जोखिम, चोटपटक, मानसिक तनाव र नियमित स्वास्थ्य सेवामा अवरोधका कारण बालबालिकाको स्वास्थ्य तथा समग्र विकासमा गम्भीर असर पर्न सक्ने उसको भनाइ छ।
विशेषगरी नवजात शिशु, कुपोषित तथा दीर्घरोग भएका बालबालिकाको स्वास्थ्य र सुरक्षामा थप ध्यान दिनुपर्ने नेपासले जनाएको छ। मानवीय संकटका बेला बालबालिका संक्रमण, कुपोषण, चोटपटक, असुरक्षित पानी तथा सरसफाइ, परिवारबाट अलग हुने अवस्था, मानसिक तनाव, उपेक्षा, हिंसा तथा दुर्व्यवहारको उच्च जोखिममा पर्ने भएकाले राहत तथा पुनःस्थापनाका कार्यक्रम बालमैत्री बनाउनुपर्नेमा उसले जोड दिएको छ।
नेपासले राहत तथा पुनःस्थापनाका क्रममा गुणस्तरीय स्वास्थ्य सेवा, आवश्यक औषधि तथा पोषण, सुरक्षित खानेपानी र सरसफाइ, मनोसामाजिक सहयोग तथा बाल संरक्षणलाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ।
संघ, प्रदेश र स्थानीय सरकार, स्वास्थ्य संस्था, सुरक्षा निकाय, विकास साझेदार, नागरिक समाज, स्थानीय समुदाय तथा स्वास्थ्यकर्मीबीच प्रभावकारी समन्वय र सहकार्य गरी प्रभावित बालबालिका तथा परिवारको स्वास्थ्य, सुरक्षा र मर्यादा सुनिश्चित गर्न पनि नेपासले अपिल गरेको छ।
करिब आठ सयभन्दा बढी बालरोग विशेषज्ञ सदस्य रहेको नेपासले प्रभावित क्षेत्रमा बालबालिकालाई आवश्यक चिकित्सकीय सेवा, परामर्श तथा बालस्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउन आफू र आफ्ना सदस्य बालरोग विशेषज्ञहरू तयार रहेको जनाएको छ।


