बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण

हिमाल प्रेस १४ भदौ २०८३ १२:२४ | Sunday, August 30, 2026
बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण

काठमाडौँ- नुवाकोट जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ। समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा संकलन गरी आवश्यकताका आधारमा वितरण गरिएको हो।

नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर स्थापना छन्। ती होल्डिङ सेन्टरहरू विदुर नगरपालिकामा नौ वटा, किस्पाङ गाउँपालिकामा दुई वटा, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नपामा एक-एक वटा छन्।

‘बाढीप्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणालीअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत संकलन गरिरहेका छौँ’, समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने,‘त्यसैअनुसार आवश्यकताका आधारमा ती सामग्री हामीले होल्डिङ सेन्टरमा पठाइरहेका छौँ।’ संकलित सामग्री गाडी नपुग्ने स्थानमा हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए।

बाढीपीडितलाई होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा बासको व्यवस्था मिलाउने कार्यमा स्थानीय तहले सहजीकरण गरिरहेको छ। ‘प्रत्येक होल्डिङ सेन्टरमा हामीले स्वास्थ्य जाँच र पारिवारिक पुनर्मिलनको व्यवस्था मिलाएका छौँ’, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले भने,‘बाढीबाट पुगेको जनधन क्षतिका विवरण संकलनसँगै प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ।’

राहत सामग्री संकलन तथा वितरणलाई एकद्वार प्रणाली बनाउने भनिए पनि केही दाता तथा व्यक्तिले सहज पहुँच भएका होल्डिङ सेन्टरमा पुगेर आफैँ राहत सामग्री उपलब्ध गराएका छन्। जसका कारण समानुपातिक रुपमा सबै होल्डिङ सेन्टरमा राहत सामग्री पुग्न सकेको छैन। दाताहरू सिधै होल्डिङ सेन्टरमा आएर राहत सामग्री दिन थालेपछि अन्य स्थानमा पनि लैजान अनुरोध गरेको विदुर नगरपालिका-५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले बताए। ‘यहाँ तत्कालका लागि पर्याप्त राहत सामग्री उपलब्ध भइसकेको छ’, उनले भने,‘यहाँ मात्र नभई अन्यत्र पनि राहत सामग्री लैजान हामीले अनुरोध गरेका छौँ।’

राहत सामग्रीमा धेरैजसो चामल, दाल, चाउचाउ, बिस्कुटजस्ता खाद्य सामग्री प्राप्त भइरहेको छ। खाद्य सामग्रीको तुलनामा लत्ताकपडा कम प्राप्त भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ। नुवाकोटको सबैभन्दा बाढीप्रभावित बस्तीहरूमा विदुर नगरपालिकाको बेत्रावती, त्रिशूली, ढुंगे, सिमचौर, देवीघाट छन्। त्यसैगरी किस्पाङ गाउँपालिकाको शान्तिबजार, नयाँ पुल, मैलुङ क्षेत्रका बस्ती प्रभावित हुँदा अधिकांशले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। बेलकोटगढी नगरपालिकाको सबैभन्दा बढी प्रभावित बस्तीमा ठूलो खोला, बुधसिहघाट, रातमाटे, कोलचौर, केउरेनी, कोल्पुटार छन्।

सूर्यगढी गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा भने रसुवा र नुवाकोटका विभिन्न स्थानबाट बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थान खोजी गर्दै आइपुग्नेलाई आश्रय दिइएको छ।

नदी पारिका क्षेत्रमा राहत वितरणमा कठिनाइ

सदरमुकाम विदुरतर्फका क्षेत्रमा राहत सामग्री वितरण सहज भए पनि नदी पारिका क्षेत्रमा वितरणमा कठिनाइ भएको छ। केही संस्थाले ‘ड्रोन’मार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्‍याउने काम गरिरहेको छ। बाढीबाट प्रभावित नदी पारीका बस्तीहरू विदुर नगरपालिकाको वडा नं १, ३, ६, ७, ९ र १२ मा पर्छन्। वडा नं १ को त्रिशूली बजार, ३ को खड्गभञ्ज्याङका विभिन्न बस्ती, ६ को चैनपुर आसपास, ७ को तुप्चेका बस्तीहरू, ९ को सिलट्यांकीक्षेत्र र १२ को चारघरेका विभिन्न स्थान छन्।

सदरमुकामदेखि त्रिशूली नदी पारी सात वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । तर तादी र कोल्पुखोलाको पुल बगाएसँगै बेलकोटगढी-७ महादेव माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरसम्म राहत सामग्री पुर्‍याउन पनि हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था छ।

प्रकाशित: १४ भदौ २०८३ १२:२४ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast