काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितलाई राहत सामग्री उपलब्ध गराएका छन्।
सामुदायिक विद्यालयका शिक्षकसमेत रहेका भट्टराईले रसुवाको शिवालय आधारभूत विद्यालयमा सञ्चालन गरिएको राहत वितरण अभियानमा प्रत्यक्ष रूपमा सहभागी भएका थिए। राहत वितरणका क्रममा पीडितहरूको अवस्था देख्दा आफू भावुक बनेको उनले बताएका छन्।
राहत अभियानअन्तर्गत पीडित परिवारलाई ३० वटा ओच्छ्याउने डस्ना, ७० वटा ब्ल्याङ्केट, ५० किलोग्राम स्याउ, १२० वटा मञ्जन, १५० वटा टूथब्रस, १३० वटा टी-सर्ट, १३० वटा ट्र्याकसुट तथा सात वटा सोलार बत्ती वितरण गरिएको थियो।
भट्टराईका अनुसार राहत वितरणसँगै प्रभावित क्षेत्रमा अझै पनि अत्यावश्यक सामग्रीको अभाव रहेको छ। विशेष गरी खाना पकाउने ग्यास, औषधी तथा उपचार सेवा, शौचालयसम्बन्धी सामग्री र ओड्ने-ओछ्याउने सामग्रीको तत्काल आवश्यकता रहेको उनले जानकारी दिए।
बाढीका कारण विस्थापित भएका स्थानीयहरू अस्थायी आश्रयस्थलमा बसिरहेका छन्। राहत सामग्रीले तत्काल राहत पुगे पनि आवश्यक सामग्रीको अभाव कायमै रहेकाले सरकारी निकाय, संघसंस्था र सहयोगी हातहरूलाई प्रभावित क्षेत्रमा सहयोगका लागि जुट्न भट्टराईले आग्रह गरेका छन्।


