विभाजनतिर कांग्रेस, इतरपक्षले पनि महाधिवेशनको मिति घोषणा गर्दै

हिमाल प्रेस १३ भदौ २०८३ १७:५७ | Saturday, August 29, 2026
विभाजनतिर कांग्रेस, इतरपक्षले पनि महाधिवेशनको मिति घोषणा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५ औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ।

संस्थापन पक्षले तयारी अगाडि बढाइरहेको बेला इतर समूहले १५ औँ महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गर्न लागेको हो।

१५ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न भन्दै संस्थापनइतरले तयारी समितिको बैठक बोलाएको छ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले भदौ १७ गते १ बजे सम्पर्क कार्यालय चुनदेवीमा महाधिवेशन तयारी समितिको बैठक बोलाइएको जानकारी दिएका छन्।

बैठकमा १४ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको उनले बताएका छन्।

आगामी असोजका लागि तय भएको १५ औँ महाधिवेशन रोक्न संस्थापन इतरले गरेको मागलाईसर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ। पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामाथि पुनः सर्वोच्चमा सुनुवाइ हुने भन्दै इतर पक्षले माहाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो।

सर्वोच्चले महाधिवेशन प्रक्रिया रोक्न अस्वीकार गरेपछि कांग्रेस संस्थापनइतरले छुट्टै १५ औँ महाधिवेशनको मिति घोषणा गर्ने तयारी गरेको हो।

इतर समूहका १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिने जानकारी दिएका छन्।

उनले पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीको विधान र संविधानअनुसार वर्तमान कार्यसमितिको पदावधि सकिन लागेको जिकिर गरेका छन्।

‘कुनै एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणका आधारमा मुद्दाको किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरी दिएको निवेदनमा सर्वोच्च अदालतबाट रोक्ने आदेश नआएपछि १४ औँ महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको बोध गर्दै १५ औँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी पुनः प्रक्रिया प्रारम्भ गरिनेछ,’ उनले विज्ञप्ति निकालेर भनेका छन्।

नेता कोइरालाले पूर्वनिर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठनलगायतका कार्यहरू गरी सबै तहका अधिवेशन गरिने जानकारी दिएका छन्।

‘तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सामेल नभई १४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका इमानदार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनिधि तथा शुभचिन्तक साथीहरूमा हार्दिक अनुरोध गर्दछु,’ कोइरालाले भनेका छन्।

पूर्णपाठः

भाद्र १३, २०८३

प्रेश विज्ञप्ति

अहिले एकातर्फ हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्धा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन छ भने अर्कातर्फ हाम्रो पार्टीको विधान बमोजिम पदावधी यही मंसिर मसान्त र नेपालको संविधान अनुसार थप छ महिनामा समाप्त हुदैंछ । सँगसँगै स्थानीय तहको निर्वाचन पनि २०८४ बैशाख अर्थात अवको आठ महिनामा र प्रदेश सभाको निर्वाचन अवको करिव एक वर्षमा हुदैंछ । साथै मुलुकको राजनीतिक अवस्था थप जटिल र अस्थिर बनिरहेको छ । राष्ट्रियता, सार्वभौमिकता र नागरिक स्वतन्त्रता दिनानुदिन संकुचित हुँदै गएको समस्त नेपालीहरूले महसूस गरिरहेका छन् । यो विषम अवस्थामा एकतावद्ध भएको सवल सक्षम र सुदृढ कांग्रेस बनाउँनु हामी सबैको कर्तव्य हो ।

नेपाली कांग्रेसको आधिकारिताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधि भित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुङ्याउँने र हामीले न्याय पाउँने छौ भन्ने गहिरो विश्वास पनि रहेको छ । आवेग, उत्तेजना, गाली गलौच तथा षडयन्त्रका तानाबानाले होईन, संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ सम्पूर्ण लोकतन्त्रवादी व्यक्ति र समुदायको साथले पुनः सबै तहमा सबल सक्षम र लोकप्रिय पार्टीका रूपमा नेपाली कांग्रेस निर्माण गर्नेछौ भन्ने दृढ विस्वास व्यक्त गर्दछु ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीमा थप विवाद सिर्जना गर्ने वा पार्टीमा थप अन्य तहमा समेत विभाजन पु¥याउँने कुनै पनि गतिविधि कुनै पनि पक्षले गर्न गराउँन हुँदैन । तर यस सन्दर्भमा कुनै एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरि अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणका आधारमा मुद्धाको किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरि दिएको निवेदनमा सर्वोच्च अदालतवाट रोक्ने आदेश नआए पछि चौधौँ महाधिबेशनवाट निर्वाचित हाम्रो बैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिबेशन गर्नुपर्ने बैधानिक दायित्व भएको बोध गर्दै पन्ध्रौँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशिघ्र सार्वजनिक गरि पुनः प्रक्रिया प्रारम्भ गरिनेछ ।

यसका लागि पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरु गरि सवै तहका अधिवेशन गरिने छ । अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशिघ्र सार्वजनिक गरिनेछ । तथाकथित विशेष महाधिवेशनवाट स्वघोषित कार्यसमितिले गर्ने गराउँने अधिवेशन तथा महाधिवेशन सम्बन्धि गतिविधीमा सामेल नभई चौधौँ महाधिवेशनवाट निर्वाचित बैधानिक कार्यसमितिले गराउँने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सवै तहका इमान्दार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनीधि, सर्मथक तथा शुभचिन्तक साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।

साथै गत भाद्र १० गते बुधवारका दिन रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित, कहालिलाग्दो, त्रासदिपूर्ण विनासकारी वाढीवाट हाल सम्म सयौंको ज्यान गएको, हजार्रौ बेपत्ता भएको, सयौं व्यक्ति घाईते भएको र हज्जारौ परिवार विस्तापित भएको पिडादायी अवस्थामा छौ । यस विपद्को घटनाले पु¥याएको जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरुको खोजी, उद्धार, राहत, सुरक्षित आवास, र उचित क्षतिपूर्ति सहित पुर्नस्थापनाको व्यवस्थाको लागि नेपाल सरकारको गंभिर ध्यानाकर्षण गराउँदै आवश्यक सहयोगका लागि राजनैतिक दल, भ्रातृ तथा शुभेच्छुक संघ संस्था, नीजि क्षेत्र, उद्योगी व्यवसायी प्रतिष्ठान, वित्तिय संघ संस्था एवं मित्र राष्ट्र, अन्र्तराष्ट्रिय समुदाय, अन्र्तराष्ट्रिय दातृ निकायहरूसँग हार्दिक अपील गर्दै विपदको यस कठिन घडिमा मानवीय सेवामा निरन्तर जुट्न पार्टीका सबै तहका साथीहरूलाई पुनः आव्हान गर्दछु । जयनेपाल !

डा. शशांक कोइराला

संयोजक

प्रकाशित: १३ भदौ २०८३ १७:५७ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast