सम्झना

गोरेबहादुर खपांगी, एउटा मिथकजस्तो मान्छे!

राजकुमार दिक्पाल १३ भदौ २०८३ १६:४१ | Saturday, August 29, 2026
गोरेबहादुर खपांगी, एउटा मिथकजस्तो मान्छे!

धनकुटामा पनि जनजातिको पार्टीको कार्यालय खुल्दै छ भन्ने हल्ला चल्यो। त्यसबेला त्यो पार्टीको नाम थियो, राष्ट्रिय जनमुक्ति मोर्चा। हुँदाहुँदै देब्रेबासको एउटा घरमा पार्टी कार्यालय स्थापना भएको साइनबोर्ड देखियो। त्यो बेला यस पार्टीका स्थानीय नेता कोही चिन्न सकिनँ, मैले। तर साइनबोर्ड लेखाउने र टाँस्ने मानिस परे मेरा चीरपरिचित छिमेकी।

यज्ञ गुरागाईँले साइनबोर्ड लेखाएर आफैँ बोकाएर ल्याउँदै गरेको देखियो। यज्ञ बाहुनको छोरो, फेरि ‘आँखा चिम्सा र नाक थेप्चाहरू’ले खोलेको पार्टीलाई स्थानीय स्तरमा स्थापित गर्न यज्ञ दाइ कम्मर कसेर लाग्नुभएको देख्छु। मैले जान्दा र बुझ्दा यज्ञ दाइ सूर्यबहादुर थापाप्रति साह्रै बफादार। तर बेलाबेलामा अनेक गरिरहनुपर्ने। होहल्ला पनि खुब गर्नुपर्ने। २०५४ सालको स्थानीय चुनावमा धनकुटा नगरपालिकाको मेयर पदका स्वतन्त्र प्रत्यासी। उहाँले जम्मा एक भोट पाउनुभयो।

बाहुनको छोरोले २०४७ सालमा जनमुक्ति मोर्चा नामको पार्टीको साइनबोर्ड बोकेर ल्याई टाँस्दै गरेको चाहिँ म आफैँले देखेँ। पछिल्ला समयमा यज्ञ दाइ कुनै पार्टीमा हिँड्नुभयो जस्तो लागेन। सूर्यबहादुर थापालाई हराउने एमाले नेता गोपाल गुरागाईँका कान्छा काकाका छोरा यज्ञ दाइ विभिन्न रूपमा एमालेविरुद्ध लागिरहेको चाहिँ देख्थेँ।
म यज्ञ दाइलाई बेलाबेला जिस्काउँथेँ, ‘ए दाइ, कति धेरै भोट ल्याको हौ, जम्मा एक भोट? भाउजूले पनि तपाईँलाई पत्याउनुभएन कि क्या हो?’

‘ए बाबु, तँलाई यत्तिको बोल्ने बुद्धिचाहिँ कसरी आयो हँ?’ उनी मलाई उल्टै उल्लीबिल्ली गर्न खोज्ने।

उनी दिवंगत भइसके। तर व्यक्तिगत रुपमा यज्ञ दाइले कसैको हानिनोक्सानी गरेको चाहिँ मलाई थाहा छैन।

यज्ञ दाइले धनकुटामा साइनबोर्ड टाँसेको पार्टीको केन्द्रका नेताचाहिँ को होलान्? सोधी-खोजी गर्दा एमएस थापा र गोरेबहादुर खपांगी पार्टीका खास नेता हुन् भन्ने थाहा भयो। दुवै वामपन्थी पृष्ठभूमिका।

मैले २०४७ सालमा पहिलो पटक गोरेबहादुर खपांगीको नाम सुनेँ। मेरा लागि त नाम र थर दुवै अनौठो!

चामल जोगाउने जुक्ति

दसैँ बहिष्कार!

दुई शब्दको यो वाक्यले कसैको दिमाग चाट्यो, कोही भने रमाए।

आफूहरू सनातनी हिन्दु धर्मावलम्बी नभएको र दसैँ आफूहरूको चाड नभएको तर्कका साथ दसैँ मान्नुहुन्न भन्ने अभियानका प्रमुख अभियानकारीमध्येका गोरेबहादुर एक। उनी बारम्बार दसैँ बहिष्कारलाई पुष्टि गर्दै स्पष्टीकरण दिन्थे, ‘हामीले दसैँ बहिष्कार भनेका होइनौँ, दसैँ परित्याग पो भनेका हौँ त। हामीलाई अरूको चाडपर्व बहिष्कार गर्नु नै किन पर्‍यो र?’

उनी दसैँमा टीका नगलाएर क्विन्टलका क्विन्टल चामल जोगाउने कुरा गर्थे।

तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम घोषणा गर्दै आफ्नो शासन हातमा लिएर लोकेन्द्रबहादुर चन्दको नेतृत्व सरकार गठन गरे। महिला बालबालिका तथा समाजकल्याणमन्त्री बनाइए, गोरेबहादुर खपांगी। त्यो सालको दसैँमा उनी स्वयम् टीका थाप्न नारायणहिटी दरबारमा पुगे। उनले टीका थापेको फोटो भाइरल हुने नै भयो।
आदिवासी जनजाति समुदायबाटै उनको ठूलो आलोचना भयो। तर उनले आफ्नो बचाउ गरिरहे।

मैले उनी मन्त्री छँदै फोन गरेँ, ‘नमस्कार, मन्त्रीज्यू।’

‘आज्ञा होस्’, मन्त्रीज्यूको पुरानो बानीअनुसारको शब्द।

मैले जिज्ञासा राखेँ, ‘दसैँ परित्याग गरौँ भनेर त्यत्रो अभियान चलाउने अभियानकारी तपाईँ आफैँ टीका थाप्न दरबार जाने?’

‘ए बाबा, राजाले मलाई मन्त्री पद बक्स्यो, यसबापत मसँग भएको एउटा जिउ दिएँ, त्यही जिउमा टीका बक्स्यो त, केको कोकोहोलो?’ फेरि उनले आफ्नो बचाउ गरे।

‘कुभिण्डो काट्न नसक्ने आँट’

माओवादीले भर्खरै सशस्त्र विद्रोह सुरु गरेको थियो। त्यो विद्रोहप्रति गोरेबहादुरको सहमति थिएन।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ र त्यसमा पनि धरानमा त्यसबेला पाँच हजार जति भोट राष्ट्रिय जनमुक्ति पार्टीलाई जान्थ्यो। २०५१ सालको मध्यावधि निर्वाचनमा उनलाई त्यही क्षेत्रमा उम्मेदवार बनाइयो। उनको उम्मेदवारीप्रति जनमुक्ति पार्टीका स्थानीय नेताकार्यकर्तामा ठूलो उत्साह थियो।

मतगणना आरम्भ भयो। थालनीमा गोरेबहादुर खपांगीले अग्रता हासिल गरेको समाचार रेडियो नेपालले प्रसारण गर्‍यो। यसले जनमुक्तिका स्थानीय नेताकार्यकर्तामा थप उत्साह भर्‍यो। तर यस्तो समाचार रेडियो नेपालबाट एकपटक मात्र सुन्न पाइयो, त्यसपछि त एमालेकी लीला श्रेष्ठ सुब्बाको अग्रता कायम रहिरह्यो। पाँच हजार मतान्तरले एमालेले जित्यो।

आफू हारे पनि गोरबहादुरचाहिँ धरानलाई माया गरिरहने। उनलाई बेलाबेलामा धरानमा बोलाइने गरिन्थ्यो।

एक दिन उनको सम्बोधन सुन्न म पनि पुगेँ, एउटा सभामा। उनले माओवादी विद्रोहबारे पनि टिप्पणी गरे। उनले भनेका थिए, ‘यी माओवादीहरू मान्छे काट्ने कुरा गर्छन्, तर यिनीहरूसँग कुभिण्डो काट्ने पनि आँट छैन।’

यता दर्शकदीर्घाबाट कार्यकर्ताले ताली पड्काए, परररर…।

उनको वाक्कला मिठो थियो। तर कुनै कुनै बेला बढिनै बोल्ने।

कुरा २०५० को हो। पहिलोपटक मैले उनलाई धनकुटाको तल्लो टुँडिखेलमा देखेँ। त्यहाँ जनमुक्ति पार्टीले आमसभा आयोजना गरेको थियो। रिपोर्टिङका लागि गएको थिएँ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगाको रहस्यमय दुर्घटनामा भर्खरै निधन भएको थियो।

गोरेबहादुरले भाषणका क्रममा भने, ‘अस्ति भर्खरै मदन भण्डारी पोखराको चिप्लेढुंगामा भाषण गर्दै थिए, उनले यति चर्केर भाषण गरे कि अखिले केटाहरूले ताली पड्काउँदा फेवातालको माछा फुत्त बाहिर उफ्रिएर निस्क्यो। पहिले खुलामञ्चमा भाषण गर्दा पनि अखिले केटाहरूले पररर के ताली बजाएका थिए, नजिकैको रानीपोखरीबाट पनि यसरी नै फुत्तफुत्त माछा निस्केको थियो।’

भर्खरै दिवंगत भएका नेता भण्डारीका विषयमा उनले गरेको अराजनीतिक टिप्पणीले मेरो मन खिन्न भएको थियो।

‘गोरे दाइ इज अ फ्याट म्यान’

गोरेबहादु खपांगीको भाषण वा अभिव्यक्तिहरूमध्ये कतिपयले मेरो मन छोएको छ। उनी नेपालका पाठ्यक्रमका निर्माताहरुको कट्टर आलोचक थिए। भन्थे, ‘यहाँ किताबहरूमा उदाहरणका लागि लेखिन्छ, डा. शर्मा। के डा. मगर, डा. गुरुङ, डा. लिम्बू, डा. राई लेख्न सकिन्न?’

कक्षा ४ मा पढ्दा अंग्रेजीको किताबमा मैले पनि यस्तै डा. शर्मा पढेको थिएँ। म पनि किताबमा खोज्थेँ, डा. सुब्बा। तर भेट्दिनथेँ।

आमासँग एक दिन एक ठाउँमा पुगेँ। डोरप्लेटमा डा. सुब्बा भेटेँ, अर्थात् डा. ठाकुर सुब्बा। लाग्यो, डा. सुब्बा पनि हुँदोरहेछ।

पशुचिकित्सक डा. ठाकुर सुब्ब जिल्ला पशुचिकित्सालय, धनकुटाको तत्कालीन हाकिम थिए, त्यसबेला। उनी म आफू साधारण सदस्य रहेको शिक्षा पत्रकार समूहका अध्यक्ष रोश्ना सुब्बाका बुवा हुन्।

‘गोरे दाइ इज अ फ्याट म्यान, हि इट्स अ लट्।’ त्यसबेलाको कक्षा ४ को अंग्रेजी पुस्तकमा यो वाक्य पढ्ने पुस्ताका सदस्य अहिले पनि प्रशस्त भेटिन्छन्। यो वाक्य पढाउने शिक्षकहरु पनि कतिपय जीवितै छन्।

मैले पढ्ने पाठ्यक्रमचाहिँ त्यही साल फेरिएकाले आफ्नो पुस्तकमा यो वाक्य पढ्ने अवसर पाइनँ। तर मभन्दा एक ब्याच सिनियर मेरी दिदी विमलाको पुस्तकमा यो वाक्य पढ्ने अवसर पाएको थिएँ। निक्कै चर्चित थियो, अंग्रेजीको यो वाक्य।

अग्रज नारायण ढकालसँग मैले पत्रकारिता गर्दा एउटै छानामुनि एक दशक बिताएँ। फुर्सद भयो कि म नारायण दाइको समीपमा पुगिहाल्थेँ, उनका कुरा सुन्न।

नारायण दाइ मास्टर डिग्रीको पढाइ सकिनासाथ त्रिभुवन विश्वविद्यालयको तत्कालीन नियमअनुसार राष्ट्रिय विकास सेवा (राविसे) मा जानुपर्ने भएछ। त्यसबेला राविसेमा जानुपर्दा अधिकांशले शिक्षण सेवामा जान मन पराउँथे। नारायण दाइले रामेछाप रोज्नुभएछ, जहाँ गोरेबहादुर खपांगी हेडमास्टर थिए। तत्कालीन मालेका कार्यकर्ता, शिक्षक संगठनका तत्कालीन महासचिव गोरेबहादुर खपांगीको सान्निध्यमा पुग्ने अवसर पाउनु नारायण दाइका लागि सायद लाभदायक थियो।

साहित्यमा बुटपालिस आन्दोलनका एक अगुवा नारायण दाइमा थप क्रान्तिकारी बन्ने रहर मरिसकेको रहेनछ। त्यसैले थप क्रान्तिकारी बन्न बाहुनको छोरा उनले सुँगुरको मासु खाने निर्णय गरेछन्। रामेछापमा गोरेबहादुरको सान्निध्यपछि स्थानीय बजारबाट एक धार्नी सुँगुरको मासु ल्याएछन्। छेउछाउ कतैबाट आइपुग्यो, एक ग्यालेन कोदोको रक्सी।
तर एकदुई टुक्रा खाएपछि सुँगुरको मासुले पुगिहाल्यो, नारायण दाइलाई। गोरबहादुर त अघिदेखिनै खाँदै-पिउँदै। उनले नारायण दाइलाई भनेछन्, ‘हेर्नोस्, म त मगरको छोरो सुँगुरको मासु त मज्जाले खान्छु।’ त्यही रात एक धार्नी मासु र एक ग्यालेन कोदोको रक्सी सबै सकियो। गोरेबहादुरले सबै खाइपिइसकेछन्।

एकातिर हेडमास्टर र अर्कातिर शिक्षक नेता गोरेबहादुरको पाठ्यक्रम निर्मातासँग पनि देखभेट र उठबस भइरहने। उनको खाने बानीबाट परिचित एक पाठ्यक्रम निर्माताले उदाहरणका लागि त्यसबेलाको कक्षा ४ को अंग्रेजीको पुस्तकमा हालिदिएछन्, ‘गोरे दाइ इज अ फ्याट म्यान हि इट्स अ लट्।’ यो कुरा नारायण दाइबाट सुन्ने अवसर पाएँ।
यसबारेमा मैले गोरेबहादुरसँग जिज्ञासा राखेँ। उनले हाँस्दै भने, ‘त्यो किताबमा चित्रसहित लेखिएको पात्र मै हुँ।’

नारायण दाइबाट गोरेबहादुरको खाने बानीको बारेमा सुनेपछि उनले खाएको हेर्न मन लाग्यो। एक बिहान लाजिम्पाटको एउटा तारे होटलमा कार्यक्रम राखिएको थियो। कार्यक्रम सकिएपछि खानाको व्यवस्था थियो। बिहानैको समय भएकोले खानेकुरामा चिया कफी र बेकरी परिकार मात्र थियो।

मैले एक कप कालो चिया र दुई टुक्रा बिस्कुट लिएँ। गोरेबहादुर पूर्वमन्त्री भइसकेका थिए। उनलाई नियालेँ। उनको प्लेटमा बिस्कुट र केकको चुली लागेको थियो। उनी जति स्वाम् स्वाम् खान्छन्, त्यही तालमा उनको बोके दाह्री नाच्छ। उनी स्वाद मानी-मानी खाइरहेका थिए। मचाहिँ स्वाद मानी-मानी उनले खाएको हेरिरहेँ। सम्झेँ, गोरे दाइ इज ए फ्याट म्यान, हि इट्स अ लट्।

तर विडम्बना!

यस्ता एउटा पात्र, जसको मृत्यु सहज हुन सकेन। मिठोमिठो बोल्ने मान्छे, जीवनको उत्तराद्र्धमा अर्धबेहासशी अवस्थामा नबोलिकनै गए। अरू कसैले जस्तै मैले पनि सुनेको र देखेको गोरेबहादुर खपांगी, एउटा मिथकजस्तो मान्छे!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast