बाढी प्रभावितको स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना (तस्बिरहरू)

विनोद परियार १२ भदौ २०८३ १४:४८ | Friday, August 28, 2026
बाढी प्रभावितको स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना (तस्बिरहरू)

बुटवल- विनाशकारी भोटेकोशी-त्रिशूली  नदीको बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ।

लुम्बिनी विकास कोषले बाढी प्रभावितको स्मरणमा शुक्रबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा शान्ति प्रार्थना आयोजना गरेको हो।

प्रार्थनामा विभिन्न विहारका भिक्षु, भिक्षुणी, लामा गुरु, उपासक-उपासिका तथा लुम्बिनी विकास कोषका कर्मचारीहरूको सहभागिता रहेको थियो।

भोटेकोशी बाढीबाट अकल्पनीय जनधनको क्षति भएकाले लुम्बिनीबाट यस्ता विपद् दोहोरिन नदिन सामूहिक संकल्पसहित प्रार्थना गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राईले बताए।

‘बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छौँ। सम्पूर्ण प्राणीलाई दुःख र कष्टबाट मुक्ति मिलोस् तथा आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सामूहिक संकल्प गरेका छौँ,’ राईले भने।

लुम्बिनीबाट स्वतःस्फूर्त रूपमा बौद्ध गुरुहरूको सहभागितामा सामूहिक प्रार्थना गरिएको कोषका लेखा अधिकृत भीम बस्नेतले बताए।

उनका अनुसार विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि सबैलाई मिलेर अघि बढ्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ।

प्रभावित नागरिकको खोज तथा उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको छ।

प्रकाशित: १२ भदौ २०८३ १४:४८ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast