शव खोज्न रसुवादेखि चितवनसम्म थप १२ सय सैनिक परिचालन

हिमाल प्रेस १२ भदौ २०८३ १४:०६ | Friday, August 28, 2026
शव खोज्न रसुवादेखि चितवनसम्म थप १२ सय सैनिक परिचालन

काठमाडौँ- भोटेकोशी-त्रिशूली नदीमा बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट उठेका गुनासोलाई सम्बोधन गर्दै सरकाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शव संकलन तथा खोजी कार्यमा ढिलाइ भएको गुनासोलाई गम्भीरतापूर्वक लिँदै नेपाली सेनाले विशेष टोली परिचालन गरी सम्भावित स्थानमा धमाधम खोजी तथा शव संकलन गरिरहेको छ। शव खोजीका लागि सेनासँगै, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि छन्।

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १ हजार २ सय सैनिक जनशक्ति परिचालन गरिएको छ।

सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानहरूमा टोलीगत रूपमा जनशक्ति खटाएको छ।

यसअघि प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १ हजार ६ सय जनशक्ति परिचालन गरेको थियो।

थप १ हजार २ सय सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालित नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ।

नदीमा तीव्र बहाव तथा कठिन भौगोलिक अवस्थाका बाबजुद सैनिक टोलीले सम्भावित स्थानमा निरन्तर खोजी गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सेनाले बेपत्ता नागरिकको खोजी तथा शव फेला परेपछि संकलन र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिरहेको छ।

बाढीपछि भोटेकोशी, त्रिशूली हुँदै नारायणी नदीको तल्लो तटीय क्षेत्रसम्म शव बगाएर ल्याएको हुन सक्ने भएकाले सेनाले नदी किनारका सम्भावित सबै क्षेत्रमा खोजी अभियान विस्तार गरेको हो।

प्रकाशित: १२ भदौ २०८३ १४:०६ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast