काठमाडौँ- तिब्बततर्फको ड्याम फुटेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:३१ बजे जारी गरेको सूचनाअनुसार रसुवास्थित भोटेकोशी नदीमा बाढी बढिरहेको छ।
बाढी स्याप्रुबेँसीसम्म आइपुगेको जनाउँदै महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको जनाएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
यसैबीच, नेपाल प्रहरीले सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका क्षेत्रमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीले नदीको बहाब बढिरहेको अवस्थामा नदी किनार, खोला तथा जोखिमयुक्त क्षेत्रमा नजान, सुरक्षित स्थानमा बस्न र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई पछ्याउन आग्रह गरेको छ।


