रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष भन्छन्- संघीय सरकार सामाजिक सञ्जालमा मात्रै देखियो

हिमाल प्रेस १२ भदौ २०८३ १०:२९ | Friday, August 28, 2026
रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष भन्छन्- संघीय सरकार सामाजिक सञ्जालमा मात्रै देखियो

काठमाडौँ- रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बाढीपहिरोबाट गाउँपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भए पनि प्रभावित क्षेत्रमा राज्यको उपस्थिति प्रभावकारी रूपमा महसुस हुन नसकेको बताएका छन्।

बाढी प्रभावित क्षेत्रमै रहेका अध्यक्ष अर्यालले शुक्रबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्न खटिएका गाउँपालिकाका चार कर्मचारी अझै बेपत्ता रहेको र सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचानपछि दाहसंस्कार गरिएको जानकारी दिएका छन्। कार्यपालिका सदस्य ज्ञानु विकसहित केही शिक्षकहरू पनि सम्पर्कविहीन रहेको उनले बताएका छन्।

उनका अनुसार वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायतका क्षेत्रमा अकल्पनीय मानवीय क्षति भएको छ। भूकम्पपछि ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० घरपरिवारसमेत बाढीबाट प्रभावित भएका छन्। त्रिशूली-३ बी जलविद्युत आयोजनाका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली नागरिक ठूलो संख्यामा सम्पर्कविहीन भएको उनले बताएका छन्।

‘सुरुङभित्र फसेको भन्ने खबर आइरहेको छ,’ अध्यक्ष अर्यालले भनेका छन्,‘गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्किएका धेरै यात्रुहरू पनि हराइरहनुभएको खबर आइरहेको छ।’

सडक सम्पर्क पूर्णरूपमा विच्छेद हुनुका साथै विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समेत समस्या आएको उनको भनाइ छ। मोबाइल बन्द हुँदा प्रभावित क्षेत्रका नागरिकसँग सम्पर्क गर्न कठिनाइ भइरहेको उनले बताएका छन्।

अध्यक्ष अर्यालले टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा ठूलो मानवीय क्षति भए पनि मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा झन् भयावह अवस्था रहेको बताएका छन्।

मरणासन्न अवस्थाका घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सबै निकायसँग समन्वय गर्दा पनि समयमै हेलिकप्टर उपलब्ध हुन नसकेको अध्यक्ष अर्यालको गुनासो छ। उनका अनुसार घाइतेलाई कालिकास्थान-जिवजिवे अस्पताल हुँदै करिब १० घण्टापछि धुञ्चे अस्पताल पुर्‍याउनुपर्ने अवस्था आएको थियो।

नदी किनारमा ५० भन्दा बढी शव देखिएको उल्लेख गर्दै उनले परिवारले पहिचान गरेका शवसमेत तत्काल व्यवस्थापन गर्न नसकिएको बताएका छन्। फिल्डमा रहेका प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न नमिल्ने’ जवाफ पाएको उनको भनाइ छ।

बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको र बाँकी सुरक्षाकर्मी खाना-पानीको अभावमा खटिनुपरेको उनले बताएका छन्।

‘संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा देखिन्छ’

अध्यक्ष अर्यालले विपद्को समयमा संघीय सरकारको प्रत्यक्ष उपस्थिति र उद्धार-राहतको प्रभावकारी अनुभूति प्रभावित नागरिकले गर्न नसकेको टिप्पणी गरेका छन्। ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ,’ उनले भनेका छन्, ‘केही क्षेत्रमा बाहेक विपद्को अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन।’

आफू जनप्रतिनिधिका रूपमा प्रभावित क्षेत्रमा प्रत्यक्ष खटिएर काम गरिरहेको र स्थानीय स्रोतसाधन तथा परिवारका सदस्यसहित सयौँ नागरिक गुमाएको अवस्थाको प्रत्यक्ष अनुभूति भएको उनले बताएका छन्।

केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि गृह मन्त्रालयका मन्त्रीको सचिवालयबाट फोन आएर ‘नकारात्मक प्रचार नगर्न’ र ‘राजनीति नगर्न’ आग्रह गरिएको पनि उनले बताएका छन्। त्यसको जवाफमा आफूहरूले यस्तो आवाज उठाउन नपर्ने गरी सरकारले काम गर्नुपर्ने बताएको उनको भनाइ छ।

३५० प्रभावित विद्यालयमा आश्रित

अध्यक्ष अर्यालका अनुसार हाल उत्तरगया क्षेत्रका करिब ३५० प्रभावितलाई निलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ। कालिका र नौकुण्ड गाउँपालिकाले खाद्यान्नलगायत सहयोग उपलब्ध गराएको र उक्त खाद्यान्नले थप करिब तीन दिन धान्ने अवस्था रहेको उनले बताएका छन्।

प्रभावितहरू विद्यालयका कोठाको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य छन्। कतिपय स्थानीय बासिन्दाले आफ्नै घरमा प्रभावित परिवारलाई आश्रय दिएका छन्। तर नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई उनीहरूको संवेदनशील अवस्थाअनुसार आवश्यक विशेष सहयोग उपलब्ध गराउन नसकिएको अध्यक्ष अर्यालले बताएका छन्।

नदी किनारमा रहेका दर्जनौँ शव सड्न थालेपछि गाउँमा दुर्गन्ध फैलिन थालेको र यसले संक्रमणको जोखिम बढाएको अध्यक्ष अर्यालको भनाइ छ। बिरामीको संख्या पनि बढ्दै गएको भन्दै उनले तत्काल उद्धार तथा उपचारको व्यवस्था गर्नुपर्ने बताएका छन्।

पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा ठूलो संख्यामा मानिसहरू रहेको खबर आएको र त्यहाँ खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव रहेकाले तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।

त्रिशूली नदीको वारिपारि फसेका तथा परिवारबाट छुट्टिएका नागरिकलाई उद्धार गरी परिवारसँगै राख्ने व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

अध्यक्ष अर्यालका अनुसार घरबारविहीन, बेपत्ता, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी घरको तथ्याङ्क संकलन भइरहेको छ।

केही सहयोगी संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको भन्दै उनले राहत तथा उद्धार कार्यका लागि आवश्यक सहजीकरण गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारीसँग बिहीबार साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारदेखि सुरु हुने जानकारी पाएको अध्यक्ष अर्यालले बताएका छन्।

‘स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरेर आजबाट राज्यको नजरमा ओझेल परेका यी क्षेत्रमा काम सुरु हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्, ‘आफन्त गुमाएका परिवार र घरबारविहीन जनताले त्यसको अनुभूति गर्न पाउनेछन्।’

प्रकाशित: १२ भदौ २०८३ १०:२९ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast