३ हजार २५३ जनाको उद्धार, ९७७ सम्पर्कविहीन

हिमाल प्रेस १२ भदौ २०८३ ९:५२ | Friday, August 28, 2026
३ हजार २५३ जनाको उद्धार, ९७७ सम्पर्कविहीन

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि हालसम्म ४६९ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लामा गरी उक्त संख्यामा शव फेला परेको हो।

प्राधिकरणका अनुसार धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १७८ जनाको शव फेला परेको छ।

बाढीमा ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना रहेका छन्।

त्यस्तै, बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका १६१ र नुवाकोटका १ जना रहेका छन्।

मकवानपुरका ६६ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। यसैगरी सम्पर्कविहीन विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशीमा बस्ने नेपाली नागरिक १२७ जना रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।

हालसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ। उद्धारका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ।

सरकारले बाढी प्रभावित जिल्लाका लागि नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई १-१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

१० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। त्यसमा चाउचाउ, बिस्कुट, रिलिफ प्याड, म्याट्रेस, ब्ल्याङ्केटलगायत सामग्री रहेका छन्।

प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको छ। हेलिकप्टरमार्फत चार पटक उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको र थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको जनाइएको छ।

नुवाकोटमा थप ९ हजार लिटर हवाई इन्धन समेत मौज्दात रहेको र आवश्यक परे पठाउन तयार अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १२ भदौ २०८३ ९:५२ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast