नुवाकोट- नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाले बनाएको योजनाअनुसार नेकपा एमालेका नेताकार्यकर्ता उद्धार, राहात, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा खटिने बताएका छन्।
रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग कुरा गर्दै उनले स्थानीय आवश्यकताका आधारमा आफूहरू खटिने बताएका हुन्।
ठूला प्राकृतिक विपत्तिमा पनि एमालेका नेताकार्यकर्ताले श्रमदान गरेर उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको काम गरेको स्मरण गर्दै उनले यसपटक पनि सोहीअनुसार खटिने उनको भनाइ थियो।
‘तपाईँहरूले योजना बनाउनुहोस्। यस्तो प्रकारको सीप भएका जनशक्ति चाहियो भन्नुहोस्। पार्टीले त्यस्ता जनशक्ति पठाउँछ’, महासचिव पोखरेलले भने।
सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार नुवाकोट सदरमुकाम विदुरमा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डे र केन्द्रीय सदस्य एवं रसुवाका इन्चार्ज प्रेम तामाङले जिल्लामा बाढीले पुर्याएको क्षतिका बारेमा महासचिव पोखरेललाई जानकारी गराएका थिए।


