मकवानपुरका ७० जना सम्पर्कबाहिर

हिमाल प्रेस १२ भदौ २०८३ ६:२६ | Friday, August 28, 2026
मकवानपुरका ७० जना सम्पर्कबाहिर

हेटौँडा- रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर रहेका छन्।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीसँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूका आफन्तले प्रशासनलाई विवरण टिपाएका हुन्।

सम्पर्कविहीन भनिएकामध्ये केही व्यक्ति आफन्तको सम्पर्कमा आउन थालेको उनले जानकारी दिए।

प्रारम्भिक विवरणअनुसार सम्पर्क हुन नसकेकामध्ये गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन तथा भ्रमणका लागि पुगेका, बाढी प्रभावित क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति छन्।

प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले विवरणमा समावेश सबै व्यक्तिको अवस्था यकिन भइनसकेको प्रजिअ अधिकारीले बताए।

मोबाइल फोन बन्द भएको, बाढीले बगाएको वा नेटवर्कमा समस्या आएका कारण पनि परिवारसँग सम्पर्क टुटेको हुनसक्ने उनको भनाइ छ।

‘आफन्त सम्पर्कमा नरहेको भन्दै फोनमार्फत विवरण टिपाउने क्रम जारी छ। तर पछि सम्पर्कमा आएका व्यक्तिका बारेमा पुनः जानकारी नगराएकाले यकिन तथ्यांक निकाल्न कठिन भएको छ,’ उनले भने।

प्रशासनले प्राप्त विवरणका आधारमा बाढी प्रभावित क्षेत्रका प्रशासन, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित: १२ भदौ २०८३ ६:२६ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast