काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि माथिल्लो त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ।
प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको उनीहरूलाई उद्धार गरेको जनाएको छ।
सेनाले अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको बताएको छ।
सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि ‘नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली)’ बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा रहेको सैन्य टोली अहोरात्र खटिएको छ।
यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ।
सिक्युआरटी धुन्चे ब्यारेक (रसुवा) बाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याफ्रुबेँसी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकुबेँसीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।
उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले बिहीबार अबेरसम्म रसुवाका यी विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको जनाएको छ ।


