नेपाल-चीन सिमानामा फेरि बाँध फुट्न सक्ने चिनियाँ दाबी

हिमाल प्रेस ११ भदौ २०८३ १६:५२ | Thursday, August 27, 2026
नेपाल-चीन सिमानामा फेरि बाँध फुट्न सक्ने चिनियाँ दाबी सिन्हवाले प्रसारण गरेको भिडियोबाट लिइएको स्क्रिनसट तस्बिर।

काठमाडौँ- चीनको जलस्रोत मन्त्रालयले नेपाल र चीन सिमानास्थित छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँध  (ब्यारियर लेक) बनेको दाबी गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी बाहिरिनसमेत थालेकाले सम्भावित बाँध फुट्ने जोखिम बढेको छ।

उक्त ताल तिब्बत–नेपाल सीमा नाकामा आएको बाढीपहिरो प्रभावित क्षेत्रभन्दा माथिल्लो भागमा छ। पहिरोबाट आएको माटो, ढुंगा तथा अन्य गेग्रानले नदी थुनिँदा बनेको जलाशयलाई प्राकृतिक रूपमा थुनिएको ताल अर्थात् ब्यारियर लेक भनिन्छ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ। त्यसपछि तालमा पानीको मात्रा करिब ५० लाख घनमिटर पुग्न सक्ने भएकाले बाँध फुट्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन्।

वर्षा जारी रहने सम्भावना रहेकाले उक्त तालले उद्धार कार्यलाई थप जटिल बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

चिनियाँ जलस्रोत मन्त्रालयको जलविज्ञान विभागका अनुसन्धानकर्ता झु जिनफेङले सीसीटीभीसँग भने, ‘पानीको मात्रा निरन्तर बढिरहेको छ र त्यससँगै जोखिम पनि बढ्दै गएको छ।’ उनका अनुसार अवस्थाको स्थलगत निगरानी तथा विश्लेषणका लागि सम्बन्धित क्षेत्रमा टोलीहरू परिचालन गरिएको छ।

मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानीमा राखेको जनाएको छ। सम्भावित बाँध फुटेमा बाढीको प्रभाव कुन क्षेत्रमा कति पर्न सक्छ भन्ने विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ। सम्भावित आपत्कालीन अवस्थाका लागि उद्धार तथा राहत सहयोग परिचालनको तयारीसमेत अघि बढाइएको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको उल्लेख गरेको छ।
प्राधिकरणका अनुसार उक्त तालमा पानीको सतह निरन्तर बढिरहेको र जुनसुकै बेला ताल फुट्न सक्ने जोखिम रहेको छ।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

यसैबीच, चीन-नेपाल सीमाको नेपाली भूभागबाट सुरु भएको विनाशकारी पहिरो दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहसम्म पुगेपछि चीनले उद्धार तथा राहत अभियान तीव्र बनाएको छ।

चिनियाँ अधिकारीहरूले आपत्कालीन उद्धारकर्मी, चिनियाँ जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा विभिन्न राहत संस्थालाई प्रभावित क्षेत्रमा परिचालन गरेका छन्। उद्धारका लागि जनशक्ति, विमान, भारी उपकरण तथा राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।

कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप प्राकृतिक विपद्को जोखिमका बीच उद्धार तथा खोजी कार्य सञ्चालन भइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

बिहीबार बिहानसम्म घटनामा तीन जनाको मृत्यु, दुई जनाको उद्धार र ५५८ जना बेपत्ता रहेको जनाइएको छ। बेपत्ता हुनेमा २६० जना विदेशी नागरिक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म दुई सय ५८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोरखामा २०, चितवनमा एक सय आठ, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार हाल १३ हजार दुइ सय ९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार दुई सय ५०, नेपाली सेना चार हजार दुई सय र सशस्त्र प्रहरी बल नेपालका एक हजार आठ सय ४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ। उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत तीन सय ५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हाल नौ सय १० जना सम्पर्कविहीन छन्। जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका एक सय ६१, नुवाकोटका एक जना छन्। साथै विदेशी नागरिक पाँच सय १७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक एक सय २७ जना सम्पर्कमा छैनन्।

प्रकाशित: ११ भदौ २०८३ १६:५२ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast