रसुवा बाढीमा ३३ देशका ६४४ जना बेपत्ता, कुन देशका कति?

हिमाल प्रेस ११ भदौ २०८३ १३:०० | Thursday, August 27, 2026
रसुवा बाढीमा ३३ देशका ६४४ जना बेपत्ता, कुन देशका कति? रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोटको त्रिशुली देवीघाट बजार। तस्बिर : हेमन्त जोशी/रासस

काठमाडौँ- नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हराइरहेका ६४४ यात्रुको विवरण संकलन गरिएको जनाएको छ। तीमध्ये १२७ नेपाली र ५१७ विदेशी नागरिक रहेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ।

बाढीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन क्षेत्रका सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटक र यात्रुको अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्। घाइते तथा अलपत्र परेकाको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रयास जारी रहेको बोर्डले जनाएको छ।

एनटीबीका अनुसार ट्रेकिङ तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा हराइरहेका यात्रुको सूचना संकलन गरिएको हो। उक्त विवरण ट्राभल एजेन्सी, पर्यटन गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी निरन्तर प्रमाणीकरण भइरहेको छ।

बोर्डले भोटेकोशी र त्रिशूली नदी किनारका प्रभावित चार जिल्लाको तटीय क्षेत्रमा गम्भीर क्षति पुगेको भए पनि अन्य क्षेत्र सामान्य रहेको जनाएको छ।

प्रभावित क्षेत्रमा रहेका सर्वसाधारण र पर्यटकलाई शान्त रहन, आधिकारिक सुरक्षा निर्देशन पालना गर्न तथा नजिकको प्रहरी, स्थानीय प्रशासन, ट्राभल एजेन्सी वा गाइडसँग सम्पर्कमा रहन आग्रह गरिएको छ।

एनटीबीले सार्वजनिक गरेको विवरणअनुसार हराइरहेकामध्ये सबैभन्दा धेरै १२७ नेपाली छन्। त्यसपछि ५३ युक्रेनी, ५ जापानी, २५ क्यानडेली, १७८ भारतीय, ८ रसियन, ४ फ्रान्सेली र १ स्विस नागरिक रहेका छन्।

यसबाहेक अमेरिका (६५), बेलायत (३३), अस्ट्रेलिया (३५), जर्मनी (८), नेदरल्यान्ड्स (२), इजरायल (१), मलेसिया (५१), दक्षिण अफ्रिका (६), स्पेन (३), स्विडेन (१) लगायत ३३ देशका नागरिक हराइरहेका यात्रुको सूचीमा छन्।

नेपाल पर्यटन बोर्डले पर्यटकको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको दोहोर्याउँदै सबै यात्रुको अवस्था यथाशीघ्र यकिन गर्न सम्बन्धित निकायसँग समन्वय तीव्र बनाइएको जनाएको छ।

प्रकाशित: ११ भदौ २०८३ १३:०० | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast