प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग छलफल,पीडितलाई डब्ल्युएचओले औषधी र टेन्ट पठाउने

हिमाल प्रेस १० भदौ २०८३ १३:५२ | Wednesday, August 26, 2026
प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग छलफल,पीडितलाई डब्ल्युएचओले औषधी र टेन्ट पठाउने

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधी तथा स्वास्थ्य उपकरण पठाउने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्टसमेत पठाउने तयारी गरिएको छ।

मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको छ।

हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइएको मन्त्रालयले जनाएको छ।

आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समेत समन्वय गरिएको मन्त्रालयको भनाइ छ।

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदहरूसँग बाढीले पुर्‍याएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे छलफल भएको थियो।

भेटमा सांसदहरूले आआफ्नो क्षेत्रमा परेको असर तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए।

त्यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज, उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।

सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले सरकारले प्रभावित नागरिकको सुरक्षा र राहतका लागि पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताएका छन्।

उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्।

प्रकाशित: १० भदौ २०८३ १३:५२ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast