काठमाडौँ- रसुवामा आएको बाढीपछिको उद्धार कार्यलाई तीव्र बनाउन सरकारले फास्टट्र्याक व्यवस्था लागू गर्दै सातवटा हेलिकोप्टर र सशस्त्र प्रहरी बलका ३५ जना उद्धारकर्मी परिचालन गरेको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा कैलाश हेलिकोप्टरका सञ्चालक प्रतापजंग पाण्डेका अनुसार काठमाडौँबाट सशस्त्र प्रहरीका ३५ जना उद्धारकर्मी रसुवातर्फ पठाइएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सातवटा हेलिकोप्टर परिचालन गरिएको उनले बताए।
उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन सरकारले हेलिकोप्टर सञ्चालनसम्बन्धी केही अस्थायी व्यवस्था पनि लागू गरेको छ।
यस्तै, उद्धार उडानको अनुमति प्रक्रियालाई पनि सरलीकरण गरिएको छ। अब आजका उद्धार उडानको अनुमति काठमाडौँ टावरबाटै प्रदान गरिने व्यवस्था गरिएको छ।
यसअघि यस्ता विपद्का बेला उडान अनुमति लिन गृह मन्त्रालयसम्मको प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो।
रसुवामा सिर्जिएको विपद्को गम्भीरतालाई ध्यानमा राख्दै उद्धार कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले यी विशेष व्यवस्था लागू गरिएको सम्बन्धित निकायले जनाएको छ।
सरकारले प्रभावित क्षेत्रमा फसेकाको उद्धार, राहत सामग्री ढुवानी र आवश्यक जनशक्ति परिचालनलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको छ।


