काठमाडौँ- रसुवामा बुधबार बिहान आएको भीषण बाढीले स्याफ्रुबेंसीसहितका बजार तथा बस्ती क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ। बाढीको कारण अझै यकिन भइनसके पनि माथिल्लो क्षेत्रमा हिमताल फुटेको हुन सक्ने आशंका गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। उनले बाढी एक्कासि आएको र स्थानीयसँग सम्पर्क गरेर अवस्थाको जानकारी लिने काम भइरहेको बताए। ‘अचानक बाढी आएको छ। क्षति यतिउति भन्ने खुलेको छैन। ठूलै नोक्सान पुर्याएको भन्ने जानकारी आएको छ,’ परियारले भने।
उनका अनुसार रसुवाको सदरमुकाम आसपास वर्षा नभएको र मौसम खुला रहेकाले बाढीको स्रोतबारे थप अध्ययन भइरहेको छ। ‘यहाँ पानी परेको छैन, घाम लागिरहेको छ। माथितिर हिमताल फुट्यो कि के भयो, यकिन भएको छैन। अचानक बाढी देखियो,’उनले भने।
बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै धादिङ जिल्ला प्रशासन कार्यालय ले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले जारी गरेको सूचनामा नदीमा माछा मार्न, ढुंगागिट्टी संकलन गर्न वा अन्य कामका लागि नदीमा नजान आग्रह गरिएको छ। नदी क्षेत्रमा रहेका मजदुरलाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ।
यस्तै, तटीय क्षेत्रमा रहेका बासिन्दा, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र सरकारी कार्यालयलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ।
क्षतिको परिमाण तथा सम्भावित जोखिमको आकलनका लागि सुरक्षा निकाय र प्रशासनले निगरानी बढाएका छन्। प्रशासनले कुनै पनि विपद्जन्य घटना भए जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ। नेपाल प्रहरीले १००, सशस्त्र प्रहरी बलले १११४ नम्बरमार्फत आपत्कालीन सहायता उपलब्ध गराइरहेको छ।
त्रिशूली नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नुवाकोट, धादिङ, चितवन, गोरखालगायत नदी तटीय क्षेत्रका जिल्लामा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रशासनले अर्को सूचना नआएसम्म नदी किनारबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको छ।


