भोटेकोसीमा तिब्बतबाट ठूलो बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन गृहमन्त्रीको आग्रह

हिमाल प्रेस १० भदौ २०८३ १०:३२ | Wednesday, August 26, 2026
भोटेकोसीमा तिब्बतबाट ठूलो बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन गृहमन्त्रीको आग्रह गृहमन्त्री सुधन गुरुङ । फाइल तस्बिर ।

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

गृहमन्त्री गुरुङले बुधबार जारी गरेको अपिलमा रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका भोटेकोसी तथा त्रिशूली नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।

बाढीको जोखिम मुग्लिनसम्म रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारले विशेष सावधानी अपनाउनुपर्ने उनले बताएका छन्।

उनका अनुसार खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता चाहिएको अवस्थामा टोल-फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

गृहमन्त्रीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक तथा मुग्लिन-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन पनि अनुरोध गरेका छन्। उनले ती सडक खण्डमा आवतजावत पूर्ण रूपमा रोक्न सम्बन्धित निकाय र सर्वसाधारणलाई आग्रह गरेका छन्।

सरकारले नदीको बहाव र बाढीको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाउँदै सम्बन्धित जिल्लाका प्रशासन, सुरक्षा निकाय र उद्धार टोलीलाई उच्च तयारी अवस्थामा राखिएको जनाएको छ।

प्रकाशित: १० भदौ २०८३ १०:३२ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast