नेपाल टेलिकमले व्यावसायिक रूपमा सञ्चालनमा ल्यायो आउटबाउन्ड IVR सेवा

हिमाल प्रेस ९ भदौ २०८३ १६:५१ | Tuesday, August 25, 2026
नेपाल टेलिकमले व्यावसायिक रूपमा सञ्चालनमा ल्यायो आउटबाउन्ड IVR सेवा

काठमाडौँ- नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तासम्म पूर्वरेकर्ड गरिएको सन्देश पठाउन सकिने आउटबाउन्ड IVR (Interactive Voice Response) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ।

टेलिकमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार संस्थागत तथा व्यक्तिगत ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यो सेवा सूचना प्रवाह, प्रचारप्रसार र सामूहिक सन्देश सम्प्रेषणका लागि उपयोगी हुने जनाएको छ।

कम्पनीले यसअघि केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षणस्वरूप सञ्चालन गर्दै आएको सेवालाई अब व्यावसायिक रूपमा उपलब्ध गराएको हो।

नेपाल टेलिकमका अनुसार यो सेवा सामूहिक सूचना प्रणालीका रूपमा प्रयोग गर्न सकिनेछ।

कुनै सूचना, परीक्षाको नतिजा, प्रचारात्मक सामग्री वा अन्य जानकारी धेरै व्यक्तिसम्म एकैपटक पुर्‍याउन सेवा प्रभावकारी हुने विश्वास गरिएको छ।

सेवा प्रयोग गर्न इच्छुक कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरहरूको सूची र आवाज सन्देश (भ्वाइस फाइल) नेपाल टेलिकममा उपलब्ध गराएर आवश्यक प्रक्रिया पूरा गरेपछि सेवा लिन सक्नेछन्।

यस सेवामार्फत सन्देश प्राप्त गर्ने व्यक्तिको फोनमा कल आउँदा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता भएको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीका रूपमा देखिने व्यवस्था गरिएको छ।

हालका लागि यो सेवा लिन इच्छुक ग्राहकले दूरसञ्चार कार्यालय सुन्धारामार्फत तोकिएको फारम भरेर आवेदन दिन सक्ने नेपाल टेलिकमले जनाएको छ।

कम्पनीका प्रवक्ता डा.कमल लामिछानेका अनुसार स्वचालित रूपमा तोकिएका नम्बरहरूमा कल गर्न सकिने यस सेवाको माग आगामी दिनमा थप बढ्ने अपेक्षा गरिएको छ। सेवाबारे थप जानकारी नेपाल टेलिकमको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।

प्रकाशित: ९ भदौ २०८३ १६:५१ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast