काठमाडौँ- सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामै नयाँ हास्य सिरियल निर्माण गरेका छन्। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ।
सिरियलका निर्देशक सीताराम कट्टेलका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायत विभिन्न स्थानमा सिरियलको छायांकन गरिएको छ। धुर्मुस-सुन्तली मिडियाले निर्माण गरेको यो सिरियल हरेक साता शुक्रबार नेपाली समय साँझ ८:१५ बजे प्रसारण गर्ने तयारी गरिएको उनले जानकारी दिए।
धुर्मुस सुन्तली युट्युव च्यानलबाट आउने यो श्रृंखला अमेरिकामा भने शुक्रबार बिहान १०:३० बजे प्रशारण हुनेछ। ‘म त मर्छु कि क्या हो’ नाम धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो। सिरियलमा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन्। उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र समेत मुख्य भूमिकामा देखिँदैछन्।
‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’ लगायत एक समयका लोकप्रिय हास्य कार्यक्रममा कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्।


