गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

हिमाल प्रेस ७ भदौ २०८३ १४:२९ | Sunday, August 23, 2026
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

आइतबार युवाहरुले प्रदर्शन गर्दै पीडित परिवारलाई तत्काल न्याय दिन र दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

हातमा विभिन्न नारा लेखिएका प्लाकार्ड र ब्यानर बोकेर माइतीघर पुगेका प्रदर्शनकारीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराधविरूद्ध कडा कानुन निर्माण गर्नुपर्ने र अपराधीहरूलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

युवाहरुले पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने यस्ता जघन्य अपराधका घटना बढ्दै गएको र कानुनी प्रक्रिया फितलो हुँदा अपराधीहरूले उन्मुक्ति पाउने वातावरण बनेको भन्दै आक्रोश व्यक्त गरे।

उनीहरुले सरकार र पीडित गरिमा चौधरीको परिवारबीच भएको सम्झौता उल्लेख गर्दै घट्ना घटिसकेपछि राज्यले पीडित परिवारसँग सम्झौता गर्ने मात्र नभएर गरिमा जस्ता बलात्कार भएर आफ्नो ज्यान गुमाउनुपर्ने छोरीहरुको न्यायको लागि कडा कानुन ल्याउनुपर्ने माग गरेका छन्।

यद्यपि सरकार र पीडित पक्षबीच भने शनिबार राति तीनबुँदे सम्झौता भएको छ। सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको बताइएको छ।

प्रकाशित: ७ भदौ २०८३ १४:२९ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast