कविता : चिरनिन्द्रा

प्रकाशचन्द्र खतिवडा ६ भदौ २०८३ ११:०१ | Saturday, August 22, 2026
कविता : चिरनिन्द्रा

हिमालहरु नाङ्गै देखिए
डाँफे सुस्ताइ  रहेको थियो
थिएनन यतिका पाइला
चौरीहरु गोठ खोज्दै थिए ।

निमा दुःखको सुसेली हाल्छ
लदिकी बिलौना गाउँदै रोई बस्छे
च्याङ्ग्रा मालिङ्गाको टुसा खान्छन
भालु कुकुर रखबरी गरी बस्छ ।

हिमाल मुनिको एउटा गाउँ
हिम पहिरोले कोतरेर घाइते बन्छ
निमा र लदिकीको मायाको धर्सो
पासाङलाई हिम पहिरोले निले पछि
गाउँ स्तब्ध बन्छ
उदाउदैन घाम
देखिदैन जून
पिल्पिलाउँदैनन तारा
ताराहरु रुन्छन अँधेरी रातमा
बादलको घुम्टो ओडी
भाले बास्तैन
बिहानी हुँदा पनि ।

समय चक्र बिपरीत घुमेको छ
न रात
न दिन
आँसुको बर्षा रोकिदैन
पीडाले मन फाटेको छ
जीवन यात्रा क्षणभङ्गुरै त रहेछ
दुई दिनको सपनी जस्तो
निमा र लदिकीको अधर चलेको छैन
उनीहरुलाई जिन्दगी नियास्रो लाग्छ
पासाङ बिते पछि ।

निमा र लदिकी
पासाङको चिहान कोट्याउँछन
पासाङलाई बोलाउँछन
बोल्दैन पासाङ
फेर्दैन श्वास
पासाङको चिर शान्तिको निमित्त
बुद्धको प्रार्थना गर्छन
चिहान माथि
मैन बत्ति जलाएर
मध्य दिउँसै
बर्बराएर हिड्छन
चिहानको खरानी टीको लगाएर ।

म विह्वलित छु
मलाई नसोध यक्ष प्रश्न
नवजात शिशुको अकालमै ज्यान जान्छ किन ?
म निरुत्तर छु
मेरो पनि जीवनको कुनै भर छैन
निमा र लदिकी
शान्त र धैर्य बन
संझ तिमीहरुको पासाङ
चिरनिन्द्रामा लीन भएको छ ।

सुन्दरहरैंचा –६, दुलारी, मोरङ

प्रकाशित: ६ भदौ २०८३ ११:०१ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast