उपत्यकाको फोहर व्यवस्थापन गर्न सबै पालिका स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने

हिमाल प्रेस ५ भदौ २०८३ १९:५२ | Friday, August 21, 2026
उपत्यकाको फोहर व्यवस्थापन गर्न सबै पालिका स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्चस्तरीय अन्तरनिकाय छलफल सम्पन्न भएको छ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहरमैला व्यवस्थापनविज्ञ तथा बञ्चरेडाँडा फोहरमैला व्यवस्थापनस्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता थियो।

बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्यदिशाबारे भएको छलफलले फोहर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।

सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहरमैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। विगतमा फोहर व्यवस्थापनमा समस्या देखिए पनि अब समाधानका लागि सरकार गम्भीरतापूर्वक अघि बढ्ने उनको भनाइ थियो।

‘नीतिगत तथा व्यवहारगत समस्या समाधानका लागि सरकारले गर्नुपर्ने र गर्न सक्ने सबै प्रयास गर्न तयार छ। फोहर व्यवस्थापनको समस्या समाधानका लागि संघीय सरकार निकै गम्भीर छ। सबै पालिका र निकायले पनि आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ,’ उनले भने।

सञ्चारमन्त्री तिमिल्सिनाले संविधान र कानुनले फोहरमैला व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएको उल्लेख गर्दै प्रत्येक पालिकाले आफ्नो फोहर आफैँ व्यवस्थापन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए। संघीय सरकारले स्थानीय तहलाई आवश्यक सहजीकरण र सहयोग गर्ने उनको भनाइ थियो।

उनले फोहर व्यवस्थापनका लागि आवश्यक जग्गा प्राप्तिको विषय संघीय सरकारले चाँडो टुङ्ग्याउने प्रतिबद्धता जनाए। आवश्यक परे कानुनी व्यवस्था संशोधन गर्नसमेत पहल गरिने र स्थानीय सरकारलाई भाडामा भए पनि जग्गा उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

नेपाली कम्पनी अर्गानिक भिलेज र फिनल्यान्डको कम्पनी कम्पुनिकेसन ओयको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) कम्पनी नेपवेस्टसँग भएको सम्झौता र त्यससँग सम्बन्धित मुद्दामामिलाका कारण अहिले काम गर्न गाह्रो भएको स्थानीय तहहरूको भनाइ थियो।

छलफलमा सहभागी स्थानीय तहका प्रमुखले आफ्नो पालिकाको फोहर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै संघीय सरकारबाट आवश्यक सहजीकरणको माग गरे।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा विगतमा राजनीति र एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति देखिएको भन्दै अब त्यसो गर्न नहुने बताइन्।

उनले फोहरको समस्या समाधान गर्दा यसको जरामै पुग्नुपर्ने र स्रोतमा नै फोहर व्यवस्थापनको उपाय खोज्नुपर्ने धारणा राखिन्। उनले काठमाडौँ महानगरपालिका फोहर व्यवस्थापनमा जिम्मेवार भएर काम गरिरहेको उल्लेख गर्दै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना आवश्यक रहेको बताइन्। नेपवेस्टसँग सम्बन्धित विषय टुंगो लगाउन सके फोहर व्यवस्थापनको काम थप सहज हुने उनको भनाइ थियो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि नेपवेस्टसँग भएको सम्झौता अझै कायम रहेकाले महानगरपालिकाले आफैँ फोहर व्यवस्थापन गर्न नसकेको बताए।

आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेको उक्त सम्झौता खारेज गर्न आग्रह गर्दै उनले आजको बैठकलाई समस्या समाधानको प्रस्थानबिन्दु बनाउन सके स्थानीय तहलाई काम गर्न सहज हुने धारणा राखे।

छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य आशिका तामाङको स्थानीय तहका प्रमुखहरूसँग चर्काचर्की समेत भएको थियो।

बैठकमा उपत्यकाका सबै पालिकाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ५ भदौ २०८३ १९:५२ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast