मनोविमर्श

कथाव्यथामा खोजौँ मनोसमस्याका जड 

माधव खतिवडा ५ भदौ २०८३ १५:३१ | Friday, August 21, 2026
कथाव्यथामा खोजौँ मनोसमस्याका जड 

चौबिसवर्षे युवा सुदूर गाउँबाट काठमाडौँ पढ्न आउँछन्। नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ जीवनयात्रासँग अभ्यस्त हुँदै जाँदा आफूभन्दा दुई वर्ष जेठी एउटी युवतीसँग प्रेम सम्बन्ध स्थापित गर्न पुग्छन्। समय बित्दै जाँदा उनीहरूबीचको सम्बन्ध गहिरिँदै जान्छ। उनी त्यस प्रेममा कति डुब्छन् भने उनको दिनचर्या, पढाइ र भविष्यका योजनाभन्दा पनि ती युवतीसँगको सम्बन्ध नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बन्न पुग्छ।

केही समयपछि उनले के थाहा पाउँछन् भने उनकी प्रेमिका ती युवती त  विवाहित पो  रहिछन्। तिनका पति छिमेकी जिल्लाको एउटा विद्यालयमा शिक्षक रहेछन्। यो सत्य थाहा पाएपछि उनलाई आफ्नो पूरै संसार भत्किएको जस्तो लाग्छ। प्रेम गुम्ने पीडासँगै उनी आफूले कल्पना गरेको भविष्य पनि गुमिरहेको अनुभव गर्छन्। उनलाई भोक लाग्न छोड्छ, रातमा निद्रा पर्दैन, छाती पोल्छ, मुटु जोडले ढुकढुक गर्छ, मुख सुक्छ, मनमा छटपटी हुन्छ र पढाइमा ध्यान केन्द्रित हुँदै हुँदैन।

उपचारको खोजी

अनेक समस्या एकाएक देखा परेर आफूभित्र के भइरहेको छ भन्ने बुझ्न नसकेपछि उनी एक साथीको सल्लाहअनुसार अस्पताल जान्छन्। सामान्य चिकित्सा जाँचपछि उनलाई मनोचिकित्सक विभागमा जाने सुझाव मिल्छ र उनी मनोचिकित्सक कहाँ पुग्छन्।

मनोचिकित्सकले सोध्छन्- ‘के समस्या भएर आउनुभएको हो ?’ उनी आफूलाई भइरहेका कुराहरू बताउँछन्- निद्रा नलाग्ने, छटपटी हुने, मुटु जोडले धड्किने, छाती पोल्ने र पढाइमा ध्यान जाँदै नजाने। चिकित्सकले ती लक्षणलाई कम गर्न निद्रा लाग्ने र छटपटी घटाउने औषधि दिन्छन्। तत्क्षण औषधि आवश्यक नै सक्छ किनभने ती लक्षणहरूले उनका दैनिकीलाई गम्भीर रूपमा प्रभावित गरिरहेका छन्।

एउटै उपाय अचुक समाधान हुँदैन 

अर्को तरिकाले विचार गरौँ- ‘के समस्या भएर आउनुभएको हो?’ भन्ने प्रश्नको सट्टा ‘तपाईं कस्तो जीवन भोगेर यहाँसम्म आइपुग्नुभयो?’ वा ‘अहिले तपाईंको जीवनमा के भइरहेको छ?’ वा ‘तपाईंका लागि यो सम्बन्धको अर्थ के थियो?’ ‘यो कुरा थाहा पाएपछि तपाईंले के गुमाएको अनुभव गरिरहनुभएको छ?’ खालका प्रश्न ती चिकित्सकले गरेको भए उनले कस्ताकस्ता उत्तर दिन्थे होला? सायद उनका पीडाका अर्का पाटाहरू पनि खुल्ने थिए होलान्। यसो किन हो भने उनको समस्या निद्रा नलाग्नु वा मुटु जोडले धड्किनु मात्र थिएन। ती त उनका मनमस्तिष्कमा रुल्मलिइरहेका गहिरा र पीडादायी जीवनकथा वा भोगाइका बाहिरी मात्र अभिव्यक्ति थिए।

मनोदशा बुझ्ने दृष्टिपरिवर्तन

कुनै पनि व्यक्ति के समस्या भएर आएको छ भन्ने प्रश्नले उसको तत्कालको अवस्था र देखिएका लक्षण बुझ्न मात्र मद्दत गर्छ, त्योभन्दा परको सोच राख्दैन तर उसको जीवनमा के आइपर्‍यो भन्ने खालका प्रश्नले त्यही समस्यापछाडि लुकेका जीवनकथातर्फ लैजान सक्छ।

मनोवैज्ञानिक, मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी बुझाइको विकाससँगै मानिसको पीडालाई हेर्ने हाम्रो दृष्टिकोण पनि विस्तारै परिवर्तन हुँदै आएको छ। पहिले हामी प्रायः सोध्थ्यौँ- यस व्यक्तिमा के समस्या छ? उसका लक्षण के हुन्? उसको सोचाइमा के खराबी छ? उसको व्यवहार किन असामान्य छ? उसको व्यक्तित्वमा के कमजोरी छ? उसलाई कुन रोगको नाम दिन सकिन्छ? यी प्रश्नहरूको आफ्नै महत्त्व छ। व्यक्तिको अवस्था बुझ्न, जोखिम पहिचान गर्न र आवश्यक उपचार तथा सहयोग प्रदान गर्न लक्षण र समस्याको पहिचान आवश्यक हुन्छ।

यसो भए पनि मानिसलाई उसका लक्षण, कमजोरी वा रोगको नाममा सीमित गरेर पूर्ण रूपमा बुझ्न सकिँदैन किनभने मानिस तत्कालीन समस्या सँगसँगै एउटा सिंगै जीवन बोकेर हिँडिरहेको हुन्छ। उसका वर्तमान व्यवहार र भावनात्मक अवस्थाका पछाडि विगतका अनुभवहरू, सम्बन्धहरू, पीडाहरू, आशाहरू, निराशाहरू, सङ्घर्षहरू र आफूलाई जोगाउन सिकेका तरिकाहरू लुकेका हुन सक्छन्। त्यसैले आजको मनोवैज्ञानिक तथा मनोसामाजिक दृष्टिकोणले अर्को महत्त्वपूर्ण प्रश्नतर्फ हाम्रो ध्यान खिचेको छ त्यो भनेको यस व्यक्तिमा के समस्या छ भन्ने होइन, यस व्यक्तिका जीवनमा केके भएको थियो?

सतहमा नरोकिई तहतहमा गहिरो खोजी

यस्तो प्रश्नले समस्या वा लक्षणको सतहमा मात्र रोकिन दिँदैन बरु यसले व्यक्तिको जीवनका अनेक तह र पहेलीहरूतर्फ जाने बाटो खोल्छ। ऊ कस्तो परिवारमा हुर्कियो? उसको बाल्यकाल कस्तो थियो? उसले माया, सुरक्षा, स्वीकार र भरोसा कत्तिको अनुभव गर्‍यो? उसका महत्त्वपूर्ण सम्बन्धहरू कस्ता थिए? जीवनमा उसले कस्ता क्षति, अस्वीकार, अपमान, उपेक्षा, हिंसा वा निराशा भोग्यो? अहिलेको समस्यालाई जन्म दिने वा बढाउने कुनै घटना, सम्बन्ध वा परिवेश उसको जीवनमा छ कि छैन? कठिन परिस्थितिसँग जुध्न उसले अहिलेसम्म केकस्ता उपाय अपनाउँदै आयो? कसले उसलाई साथ दियो? के कुराले उसलाई यतिञ्जेल धानेर ल्यायो? यी प्रश्नहरूले व्यक्तिको वर्तमान अवस्थालाई उसको जीवन-इतिहास, सम्बन्ध र परिवेशसँग जोडेर हेर्न मद्दत गर्छन्। यसरी एउटा सामान्य लक्षणबाट सुरु भएको कुराकानी बिस्तारै उसको बाल्यकाल, परिवार, सम्बन्ध, गुमाइ, संघर्ष, सामाजिक परिवेश, आफूलाई जोगाउने उपाय, सबल पक्ष र भविष्यका सम्भावनासम्म पुग्न सक्छ।

यहीँबाट आघातप्रति संवेदनशील र व्यक्तिको परिवेशलाई केन्द्रमा राख्ने प्रश्न गर्ने शैलीको महत्त्व देखिन्छ। यसले व्यक्तिको पीडालाई केवल उसको मनभित्र रहेको समस्या मानेर हेर्दैन बरु उसले जीवनमा के भोग्यो र ती अनुभवहरूले उसलाई कसरी प्रभावित गरे भन्ने कुरा बुझ्न खोज्छ। मानिसको जीवनमा घट्ने सबै पीडादायी अनुभव समान हुँदैनन्। कतिपय घटना अत्यन्त गम्भीर र स्पष्ट हुन्छन्- जस्तै दुर्घटना, प्राकृतिक विपत्ति, युद्ध, यौन वा शारीरिक हिंसा, घरेलु हिंसा, प्रियजनको अचानक मृत्यु वा जीवन नै जोखिममा पर्ने घटना। यस्ता घटनाले मानिसको मनमा गहिरो चोट पुर्‍याउन सक्छन्।

जीवनका सबै घाउ यति ठूला र देखिने हुँदैनन्। कतिपय अनुभव बाहिरबाट हेर्दा सामान्यजस्ता देखिन्छन् तर बाल्यकाल वा किशोरावस्थामा बारम्बार दोहोरिँदा, लामो समयसम्म रहँदा वा कठिन समयमा आवश्यक माया, सुरक्षा र साथ नपाउँदा तिनले पनि मनमा गहिरो प्रभाव पार्न सक्छन्। निरन्तर आलोचना, अपमान, अस्वीकार, उपेक्षा, बुलिङ, अभिभावकबीचको निरन्तर झगडा, अस्थिर हेरचाह, बारम्बारको असफलता, भेदभाव, सामाजिक बहिष्कार, गरिबी, परित्याग, विश्वासघात वा असुरक्षित वातावरणमा हुर्कनुपर्नेजस्ता अनुभवहरू पनि व्यक्तिको मनोवैज्ञानिक विकासमा महत्त्वपूर्ण हुन सक्छन्।

विशेष गरी बाल्यकालमा भोगेका यस्ता अनुभवहरूले बच्चाले आफूलाई, अरूलाई र संसारलाई हेर्ने तरिकामा प्रभाव पार्न सक्छन्। बारम्बार अस्वीकार गरिएको बच्चाले ‘म पर्याप्त राम्रो छैन’ भन्ने धारणा बनाउन सक्छ। सधैँ आलोचना सुनेको बच्चाले आफूले गर्ने कुनै काम पनि ठीक हुँदैन भन्ने सिक्न सक्छ। असुरक्षित वातावरणमा हुर्किएको बच्चा सधैँ खतरा खोजिरहने हुन सक्छ। विश्वास गर्न नसकिने सम्बन्धमा हुर्किएको बच्चालाई पछि गएर कसैलाई नजिक ल्याउन कठिन हुन सक्छ। यसरी विगतमा आफूलाई जोगाउन सिकेका केही तरिकाहरू पछि गएर जीवनका अरू परिस्थितिमा समस्या बन्न सक्छन्।

भोगाइका अर्थको खुल्दुली : मनोवैज्ञानिक टेवाको एक आयाम

त्यसैले हामीले मानिसको व्यवहारलाई केवल समस्या भनेर हेर्नुभन्दा कहिलेकाहीँ त्यस व्यवहारले उसको जीवनमा कुनै समय पूरा गरेको काम पनि बुझ्नुपर्छ। अत्यधिक सतर्क रहने व्यक्ति सधैँ डराउने मानिस मात्र नहुन सक्छ बरु उसले असुरक्षित वातावरणमा आफूलाई जोगाउन सतर्क रहन सिकेको हुन सक्छ। सम्बन्धबाट टाढा रहने व्यक्ति घमण्डी वा असामाजिक मात्र नहुन सक्छ; उसले नजिकिँदा चोट पाइन्छ भन्ने अनुभवबाट आफूलाई जोगाउन दूरी कायम गर्न सिकेको हुन सक्छ।

अत्यधिक नियन्त्रण गर्न खोज्ने व्यक्ति अरूलाई नियन्त्रण गर्न चाहने मात्र नहुन सक्छ बरु उसको जीवनमा नियन्त्रण गर्न सकिने कुरा अत्यन्त कम भएका कारण उसले त्यही सिमित नियन्त्रणलाई सुरक्षाको आधार बनाएको हुन सक्छ। त्यसैगरी धेरै रिसाउने, एक्लै बस्ने, आफ्ना भावना व्यक्त गर्न नसक्ने, सबै कुरा  दुरुस्त राख्न खोज्ने, सधैँ अरूलाई खुसी पार्न खोज्ने वा नशाको सहारा लिने जस्ता व्यवहारहरू पनि कहिलेकाहीँ व्यक्तिले कुनै कठिन समय पार गर्न अपनाएका सामना गर्ने उपायहरू हुन सक्छन्। समस्या तब सुरु हुन सक्छ जब कुनै समय आफूलाई जोगाउन उपयोगी भएका त्यही उपायहरू पछिका परिस्थितिमा अनुपयोगी वा हानिकारक बन्न पुग्छन्।

यी भनाइहरूको अर्थ के होइन भने अर्थ हरेक मानसिक वा मनोवैज्ञानिक समस्या विगतको कुनै आघातकै कारण हुन्छ। न त मानिसलाई उसको पीडादायी अनुभवले मात्र परिभाषित गर्नुपर्छ। मानिसमा पीडा मात्र हुँदैन; उसमा सामर्थ्य, आशा, सम्बन्ध, सिकाइ, अनुकूलन गर्ने क्षमता र पुनः उठ्ने शक्ति पनि हुन्छ। त्यसैले मानिसको जीवनलाई बुझ्दा उसको घाउसँगै उसको सबल पक्ष पनि हेर्नुपर्छ। उसले के भोग्यो भन्ने प्रश्नसँगै उसले त्यसबाट कसरी आफूलाई जोगायो, कसले उसलाई साथ दियो, उसले के सिक्यो र अहिले उसको जीवनमा के-कस्ता सम्भावनाहरू छन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। विगतलाई बुझ्नु भनेको व्यक्तिलाई विगतको कैदी बनाउनु होइन; बरु वर्तमानलाई बुझ्न र भविष्यका सम्भावनाहरू खोल्न विगतको अर्थ खोज्नु हो।

मनोविमर्शको क्षेत्रमा यो दृष्टिकोण अझ महत्त्वपूर्ण हुन्छ। मनोविमर्शकर्ताले व्यक्तिको लक्षण सुन्नुपर्छ तर लक्षणमै रोकिनु हुँदैन। निद्रा नलाग्ने व्यक्तिसँग ‘तपाईंलाई निद्रा किन लाग्दैन?’ मात्र होइन, ‘तपाईंको मनमा अहिले के चलिरहेको छ?’ भनेर पनि सोध्न आवश्यक हुन सक्छ। सधैँ डराइरहने व्यक्तिसँग ‘तपाईं किन डराउनुहुन्छ?’ मात्र होइन, ‘तपाईंको जीवनमा आफूलाई असुरक्षित महसुस गराउने कस्ता अनुभवहरू भए ?’ भनेर पनि जान्न आवश्यक हुन सक्छ। सम्बन्धमा बारम्बार समस्या ल्याउने व्यक्तिसँग ‘तपाईं यस्तो व्यवहार किन गर्नुहुन्छ?’ मात्र होइन, ‘सम्बन्धबारे तपाईंले आफ्नो जीवनमा के सिक्नुभयो?’ भनेर पनि बुझ्न सकिन्छ। यस्ता प्रश्न सोधाइले व्यक्तिलाई दोषी ठहर गर्दैन बरु उसलाई आफ्नै जीवनको कथा सुरक्षित रूपमा पोख्ने ठाउँ दिन्छ।

यसरी प्रश्न बदलिँदा मानिसलाई हेर्ने हाम्रो दृष्टि पनि बदलिन सक्छ। ‘तिमीमा के खराबी छ?’ भन्ने प्रश्नले कहिलेकाहीँ व्यक्तिलाई दोष, लज्जा र असहायतातर्फ धकेल्न सक्छ। तर ‘तिम्रो जीवनमा के भएको थियो?’ भन्ने प्रश्नले उसको कथा सुन्ने ठाउँ बनाउँछ। ‘तिमी किन यस्तो भयौ?’ भन्दा ‘तिमीले यति कठिन कुरा कसरी सहेर आयौ?’ भन्ने प्रश्नले उसको संघर्ष र सामर्थ्य दुवै देख्न मद्दत गर्छ। ‘तिमीले यस्तो व्यवहार किन गर्छौ?’ भन्दा ‘यो व्यवहारले तिमीलाई कुनै समय कसरी जोगाएको हुन सक्छ?’ भनेर सोध्दा व्यक्तिले आफ्नै जीवनलाई नयाँ ढङ्गले बुझ्न थाल्न सक्छ। यस अर्थमा आघातप्रति संवेदनशील प्रश्न सोध्नु भनेको हरेक व्यक्तिमा आघात खोज्नु होइन बरु उसको व्यवहारलाई तत्काल दोष नदिई त्यसको पछाडि रहेको जीवन-परिस्थिति बुझ्ने जिज्ञासा राख्नु हो।

मनोविमर्शको कडी : करुणा

सायद यहीँबाट करुणामय मनोविमर्शको सुरुवात हुन्छ। निदानको पछाडि एउटा मानिस हुन्छ। लक्षणको पछाडि एउटा कथा हुन सक्छ। व्यवहारको पछाडि आफूलाई जोगाउने कुनै प्रयास हुन सक्छ। र मनोवैज्ञानिक पीडाको पछाडि कसैले नबुझेको, नसुनेको वा स्वीकार नगरेको जीवन-अनुभव हुन सक्छ। त्यसैले मानिसलाई बुझ्ने हाम्रो यात्रा केवल ‘के समस्या छ?’ भनेर सुरु भएर त्यहीँ समाप्त हुनु हुँदैन। कहिलेकाहीँ हामीले अझ गहिरो भएर सोध्नुपर्छ-‘तपाईंको जीवनमा के भएको थियो?’

तर त्यो प्रश्न केवल विगतको घाउ खोज्नका लागि होइन बरु व्यक्तिलाई उसको सम्पूर्ण जीवनकथासहित बुझ्नका लागि हो। विगतले मानिसलाई प्रभावित गर्न सक्छ तर विगतले उसको भविष्य निर्धारण नै गर्छ भन्ने छैन। मानिस पीडाबाट प्रभावित हुन्छ तर पीडाबाट सिक्न, बदलिन, निको हुन र नयाँ अर्थ निर्माण गर्न पनि सक्छ। त्यसैले एउटा राम्रो सहायताकर्मीले मानिसको समस्या मात्र देख्दैन अझ उसको कथा सुन्छ। उसको कमजोरी मात्र देख्दैन; उसले यतिञ्जेल कसरी आफूलाई धानेर ल्यायो भन्ने पनि देख्छ। उसको घाउ मात्र देख्दैन घाउसँगै, बाँकी रहेको जीवनको सम्भावना पनि देख्छ।

यस अर्थमा ‘के समस्या छ?’ बाट ‘के भएको थियो?’ तिरको यात्रा केवल प्रश्न परिवर्तन गर्ने यात्रा होइन बरु यो मानिसलाई हेर्ने हाम्रो दृष्टिकोण परिवर्तन गर्ने यात्रा हो। यो दोषबाट बुझाइतर्फ, निर्णयबाट करुणातर्फ, लक्षणबाट जीवनकथातर्फ र कमजोरीबाट सम्भावनातर्फ जाने यात्रा हो। मानिसको जीवनका कतिपय पहेलीहरू उसको वर्तमान लक्षणमा होइन बरु उसले भोगेर आएको बाटोमा भेटिन्छन्। त्यसैले लक्षणलाई सुन्नु आवश्यक छ  तर लक्षणको छायामा लुकेको जीवनलाई देख्नु अझ आवश्यक हुन सक्छ। यही दृष्टिले मनोवैज्ञानिक सहायतालाई केवल समस्या समाधान गर्ने प्रक्रियाबाट मानिसलाई उसको सम्पूर्ण जीवनकथासहित बुझ्ने, स्वीकार गर्ने र सम्भावनातर्फ अघि बढ्न सहयोग गर्ने मानवीय यात्रामा रूपान्तरण गर्नुपर्दछ।

(खतिवडा  काठमाडौँ विश्वविद्यालयका एसिस्टन्ट प्रोफेसर तथा मनोविमर्शकर्ता हुन्।)

प्रकाशित: ५ भदौ २०८३ १५:३१ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast