काठमाडौँ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन्।
थापालाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
नेकपा एमालेका प्रदेशसभा सदस्य थापा संविधानको धारा १६८ (२) बोमिजम मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेश प्रमुख देवकोटाले उनलाई एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपासहित ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका थिए।
थापाले राप्रपालाई समेत सामेल गरेर सरकार गठनका लागि दाबी गरे पनि पछिल्लो समय राप्रपामा विवाद सुरू भएको छ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्य तथा सांसदसमेत नरहने गरी कारबाही गरेको छ।
एमाले नेता किरण थापा मगर राप्रपाको विवादका बीच मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदले समर्थन गरेका छन्।


