धुर्मुस-सुन्तलीको अर्को रोइलो : हिसाब कहाँ छ, जिम्मेवारी कसकाे?

नयाँ सरकारले पनि बुझेन भन्दै धुर्मुस फर्किँए अमेरिका

हिमाल प्रेस ४ भदौ २०८३ १२:३२ | Thursday, August 20, 2026
6
SHARES
धुर्मुस-सुन्तलीको अर्को रोइलो : हिसाब कहाँ छ, जिम्मेवारी कसकाे? कलाकार धुर्मुस र छोरी सुविहानी। तस्बिर : धुर्मुस फेसबु्क।

काठमाडौँ- चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको हिसाबकिताब विवाद फेरि सतहमा आएको छ। कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका फर्किएपछि सामाजिक सञ्जालमा सार्वजनिक गरेको भावुक अभिव्यक्तिले फेरि एकपटक उनको पीडा चर्चामा आएको छ। तर प्रश्न उठ्छ- हरेकपटक भावुक स्टाटस, आँसु र देशभक्तिको भावनाले मात्र यो विवादको समाधान हुन्छ कि अब स्पष्ट हिसाब र जिम्मेवारीको जवाफ दिनुपर्ने समय आएको छ?

धुर्मुसले दुई महिनासम्म राज्यका विभिन्न निकायका ढोका धाएको, न्यायको आशामा सरकारलाई गुहारेको तर आफ्नो आवाज नसुनिएको बताएका छन्। उनका अनुसार भरतपुर महानगरपालिकाले विनियोजन गरेको १५ करोड रुपैयाँसमेत फ्रिज हुने अवस्थामा पुगेको छ। ‘दुई महिना अथक प्रयास गरेँ । राज्यका ढोका-ढोका पुगेँ । न्यायको आशामा राज्यलाई गुहारेँ । तर, न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ,’ उनले लेखेका छन् ।

तर यहाँ धुर्मुसको पीडाभन्दा ठूलो प्रश्न गौतमबुद्ध रंगशालाको निर्माणसँग जोडिएको हिसाब हो। करोडौँ रुपैयाँ सहयोग, दान र विभिन्न स्रोतबाट संकलन गरिएको रकम कहाँ र कसरी खर्च भयो? निर्माणाधीन रंगशालामा लागेको भनिएको १८ करोडभन्दा बढी ऋणको स्पष्ट विवरण के हो? कसलाई कति तिर्न बाँकी छ? राज्यले रकम दिनुपर्ने कानुनी र प्रशासनिक आधार के हो?

यी प्रश्नको उत्तर भावुक स्टाटसले दिन सक्दैन। देशका लागि केही गर्ने सपना देख्नु राम्रो कुरा हो। आफ्नो कला र लोकप्रियतालाई प्रयोग गरेर ठूलो राष्ट्रिय परियोजना सुरु गर्नु पनि प्रशंसनीय काम थियो। धुर्मुस-सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको अभियान सुरु गर्दा धेरै नेपालीले खुलेर साथ दिएका थिए। कतिले पैसा दिए, कतिले श्रम दिए र कतिले आफ्नो पसिनासँगै आशा पनि जोडे।

तर कुनै पनि सार्वजनिक अभियान लोकप्रियताको भरमा मात्रै चल्दैन। त्यहाँ पारदर्शिता, आर्थिक अनुशासन र जवाफदेहिता अनिवार्य हुन्छ। ‘देशका लागि गरेँ’ भन्ने भावनाले राम्रो नियत देखाउन सक्छ, तर त्यसले सार्वजनिक रकमको हिसाब बुझाउनुपर्ने दायित्वबाट कसैलाई मुक्त गर्दैन।

धुर्मुसको पछिल्लो अभिव्यक्ति फेरि त्यही पुरानो प्रश्नसँग जोडिएको छ- आफूले देशका लागि १० वर्ष समर्पण गरेको र राज्यले साथ नदिएको। उनले मन भारी भएको, आँखा रसाएको र राज्यले कुनै दिन आफ्नो पीडा बुझ्ने आशा अझै रहेको बताएका छन्।

‘समयले सत्य बोल्नेछ । हाम्रो पीडा सुनिनेछ,’ उनले लेखेका छन्। तर समयले सत्य बोल्ने मात्र होइन, हिसाब पनि खोज्नेछ। यहीँबाट धुर्मुस-सुन्तलीको अर्को रोइलोमाथि प्रश्न उठ्छ। राज्यसँग सहायता माग्नु गलत होइन। यदि रंगशालाको काम सार्वजनिक उद्देश्यका लागि भएको हो, परियोजना हस्तान्तरण भएको छ र राज्य वा स्थानीय तहले दायित्व लिनुपर्ने अवस्था छ भने त्यसको समाधान हुनुपर्छ।

हो सरकारले पनि यस विषयलाई वर्षौंसम्म अल्झाएर राख्न मिल्दैन। तर सरकारसँग पैसा माग्नुअघि सार्वजनिक रूपमा पूरा हिसाब देखाउन सक्नुपर्छ। कति रकम आयो, कहाँबाट आयो, कति खर्च भयो, कुन शीर्षकमा खर्च भयो र १८ करोडभन्दा बढी ऋण कसरी सिर्जना भयो- यी सबैको स्पष्ट विवरण सार्वजनिक हुनुपर्छ।

नत्र फेरि विदेश जाने, सामाजिक सञ्जालमा भावुक भएर ‘राज्यले सुनेन’ भन्ने र देशभक्तिको भावनात्मक कार्ड खेल्ने क्रमले प्रश्न समाधान गर्दैन। अझ यसले वास्तविक समस्या ओझेलमा पार्ने खतरा हुन्छ। धुर्मुस अमेरिका पारिवारिका कारणले गएका होलान। व्यक्तिगत जीवन, पारिवारिक समस्या र आर्थिक तनावप्रति सहानुभूति राख्नुपर्छ। तर पारिवारिक कारणको विषय र गौतमबुद्ध रंगशालाको करोडौँ रुपैयाँको हिसाबलाई एउटै भावनात्मक कथामा मिसाउन मिल्दैन। एउटा पारिवारिक पीडा हो, अर्को सार्वजनिक जवाफदेहिताको विषय।

गौतमबुद्ध रंगशालाको विवादमा सरकार पनि निर्दोष छैन होला। वर्षौंसम्म निर्माण अलपत्र पर्नु, जिम्मेवारीको स्पष्ट बाँडफाँट नहुनु, संघीय सरकार, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय नहुनु- यी सबै राज्यको प्रशासनिक कमजोरी हुन् नै। यदि धुर्मुस-सुन्तली फाउन्डेसनले कानुनी प्रक्रिया पूरा गरेर परियोजना हस्तान्तरण गरेको छ भने राज्यले त्यसको स्वामित्व र दायित्वबाट भाग्न मिल्दैन।

तर धुर्मुस-सुन्तली पनि प्रश्नबाट भाग्न मिल्दैन। देशभक्तिको प्रमाण आँसुले होइन, पारदर्शिताले दिन्छ। इमानदारीको प्रमाण फेसबुक स्टाटसले होइन, खुला हिसाबकिताबले दिन्छ। र राज्यको अन्यायविरुद्ध आवाज उठाउनु सही हो, तर आफ्नै जिम्मेवारीबाट मुक्त हुने माध्यम त्यो बन्नु हुँदैन।

अब धुर्मुस-सुन्तलीको अर्को रोइलोभन्दा देशले स्पष्ट जवाफ खोजेको छ- रंगशालाको हिसाब कहाँ छ? ऋण कसरी लाग्यो? र त्यो ऋण तिर्ने जिम्मेवारी अन्ततः कसको हो? सरकारले पनि यही प्रश्नको समाधानका लागि समन्वय गर्नुपर्छ र धुर्मुस पनि यसमा पारदर्शी हुनैपर्छ। धुर्मुस सुन्तली माथी सधै सोधिने प्रश्न हो – सपना ठूलो थियो, तर हिसाब किन अधुरो रह्यो त?

https://www.facebook.com/sitaramkattelofficial/posts/29012869368301153?ref=embed_post

प्रकाशित: ४ भदौ २०८३ १२:३२ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast