काठमाडौँ- ‘कमेडी दरबार’को समूहले निर्माण गरेको फिल्म ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ। अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ भने अर्जुन स्वयंको संगीत तथा सन्तोष सापकोटाको शब्द छ। गायक सापकोटाले यही गीतबाट पार्श्व गायनमा डेब्यू गरेका हुन्।
मिग्मा डि लेप्चाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा गायक सापकोटासहित पवित्रा साकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गाईवस्तु बाँध्ने परालको टहरालाई पृष्ठभूमिमा राखिएको भिडियोमा फिल्मका चार मुख्य पात्र गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीलाई सम्मान गरिएको देख्न सकिन्छ।
‘कमेडी दरबार’का बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, खड्गबहादुर पुन (खबपु), पवन खतिवडा (म्याकुरी), सीडी विजय अधिकारी, रेअर राई, विश्वास तिमल्सेनालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
भदौ १९ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा सरोज भण्डारी, विकास अर्याल र बिक्की अग्रवालको कथा तथा संवाद लेखन छ भने पटकथा बिक्की स्वयंको हो । फिल्मका निर्मातामा श्रृद्धा प्रसाईं र सुमित्रा थापा रहेका छन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन विक्रम शाहको सम्पादन, नवीन चौधरीको मास्टरिङ तथा शिशिर ठटालको पार्श्व संगीत छ ।


