काठमाडौँ- जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा देशव्यापी संगठन निर्माण गर्ने लगायत विविध कार्यक्रम र रणनीतिक विषयमा ठोस निर्णयहरू गरिने बताइन्छ ।
सभापति डा. धवलशम्सेर राणाको नेतृत्वमा निर्माण भएको जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा विहान ११ बजे आरम्भ हुनेछ ।
विश्वसनीय राष्ट्रवादी शक्तिको अभाव र आवश्यकता पूर्ति गर्दै एकता, स्थिरता कायम गर्ने र आर्थिक समुन्नतिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित गठन भएको दलको बैठकमा संगठन निर्माणका साथै आगामी कार्यदिशाका बारेमा छलफल र महत्वपूर्ण निर्णय हुने पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताए ।
सभापति राणाको नेतत्वमा गठन भएको जय नेपाल पार्टीले निर्वाचन आयोगमा साउन २९ गते दल दर्ता गरेकै दिन स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई जय नेपाल पार्टी जोडिन आह्वान गरेको थियो ।
संवैधानिक राजसंस्था, सनातन धर्म, भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षधर दल, समूह, अभियानहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेको थियो ।


