पोखरा- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठ बुधबार पोखरा आएका छन्। उनले पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा आयोजित समारोहमा भारतीय भूपू सैनिक, वीरनारी तथा विभिन्न पदक प्राप्त सैनिकलाई सम्मान गरेका छन्।
समारोहमा भारत सरकारबाट बहादुरीका लागि विभिन्न पदक प्राप्त गरेका सैनिक तथा भारतीय सेनामा रहँदा उल्लेखनीय योगदान पुर्याएर अवकाशपछि पनि समाजमा सक्रिय भूपू सैनिकलाई सम्मान गरिएको थियो। घाइते भूपू सैनिकलाई स्कुटरसमेत प्रदान गरिएको थियो।
कृति चक्रबाट सम्मानित क्याप्टेन दिलबहादुर थापा, सौर्य चक्र प्राप्त क्याप्टेन केशरबहादुर क्षेत्री तथा सेना मेडल प्राप्त चुमानसिंह गुरुङ, क्याप्टेन रामप्रसाद गुरुङ, क्याप्टेन कृष्णबहादुर क्षेत्री, लेफ्टिनेन्ट गणेशबहादुर याक्खा लिम्बु, नायक शुभराज राई र मीनबहादुर गुरुङलाई सम्मान गरिएको थियो। होविर सेन तथा विशेष सेवा मेडल प्राप्त क्याप्टेन ठाकुरप्रसाद पौडेललाई पनि सम्मान गरिएको थियो।
त्यस्तै, योद्धा सेवा सम्मानबाट क्याप्टेन डमबहादुर पुन, क्याप्टेन रेशमबहादुर क्षेत्री, क्याप्टेन कृष्णबहादुर थापा, क्याप्टेन ताराप्रसाद श्रेष्ठ, विदुर थापा, कुलबहादुर खत्री, जगतप्रसाद गुरुङ, कर्णबहादुर गुरुङ र राज राई सम्मानित भए।

सोही अवसरमा भारतीय स्थल सेना प्रमुख जनरल सेठकी पत्नी कोमल सेठले १० जना वीरनारीलाई सम्मान गरिन्। भारतीय सेनामा सेवाका क्रममा विभिन्न युद्ध तथा द्वन्द्वमा ज्यान गुमाएका सैनिकका श्रीमतीलाई वीरनारी भन्ने गरिन्छ।
जनरल सेठले आठ जना घाइते भूपू सैनिकलाई स्कुटर प्रदान गरे। बुधबार बिहान पोखरा आएका उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँ पुरानो रहेको उल्लेख गर्दै भारतीय सेनामा नेपालीहरूको योगदान महत्त्वपूर्ण रहेको बताए।
उनले भूपू सैनिकहरूको कल्याण, सेवासुविधा र स्वास्थ्यलगायतका क्षेत्रमा भारतीय सेनाले सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। भूपू सैनिकहरू नेपाल-भारत सम्बन्धका जीवन्त प्रतिनिधि रहेको उनको भनाइ थियो।
समारोहमा भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल चितरञ्जन साहुसहित ठूलो संख्यामा भारतीय भूपू सैनिकको उपस्थिति थियो। कार्यक्रमपछि जनरल सेठ बुधबारै पोखराबाट फर्किएका छन्।


