काठमाडौँ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेको छ। पार्टी विधानअनुसार पदाधिकारी मनोनयनको तयारीमा रास्वपा जुटेको हो।
पदाधिकारी मनोनीतलगायतका विषयमा निर्णय गर्न रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
गत असारमा चितवनमा सम्पन्न महाधिवेशनबाट ७ जना पदाधिकारी निर्वाचित भएका थिए। १९ सदस्यीय रास्वपाको पदाधिकारीमध्ये ७ जना महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुने व्यवस्था छ।
त्यस्तै १२ जना पार्टी सभापतिबाट मनोनीति हुने व्यवस्था विधानले गरेको छ।
पार्टी पदाधिकारी मनोनीत गर्न रास्वपाले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले भदौ ५ गते बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।
केन्द्रीय सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको उनले बताएका छन्।
उनका अनुसार बैठकबाट स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोयनका साथै पार्टीका योजना, कार्यक्रम तथा अभियानबारे समेत छलफल हुनेछ।
बैठकबाट स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा २०८३ अनुमोदन गर्ने तयारीसमेत छ। त्यस्तै ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणसमेत हुने रास्वपाले जनाएको छ।
केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रुपरेखा’ अभिमूखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालनसम्बन्धमा समेत बैठकमा छलफल हुनेछ।
त्यस्तै पार्टीको मुखपत्रका रुपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशनका सम्बन्धमा समेत बैठकमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिएका छन्।


