काठमाडौँ- पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न सोमबार भेला भएका कम्तीमा १५ जनाको दुई अलगअलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
पश्चिम बंगाल राज्यको तारापीठमा रहेको एक होटलमा लागेको आगलागीबाट आठ जनाको मृत्यु भएको छ भने छिमेकी बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौडमा सात जनाको मृत्यु भएको छ।
होटलको आगलागीमा ज्यान गुमाएका पीडितहरू श्रावण महिनाको अन्तिम सोमबार प्रार्थना गर्न तारापीठ आएका थिए। श्रावण महिना शिवलाई समर्पित पवित्र महिना हो जसले भक्तहरूको शिव मन्दिरमा ठूलो भीड आकर्षित गर्छ।
‘आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति मैले महसुस गरेको दुःख शब्दले व्यक्त गर्न सकिँदैन,’ पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले सामाजिक सञ्जालमा जारी एक वक्तव्यमा भनेका छन्।
बिहारमा लाखिसराय जिल्लाको अशोकधाम मन्दिरमा भीडभाड भएपछि भागदौडका क्रममा सात तीर्थयात्रीको कुल्चिएर चोट लागेका कारण मृत्यु भएको हो। घटनामा १९ जना घाइते भएका बताइएको छ।
मन्दिर परिसरभित्रको विद्युतीय पोल भक्तहरूमाथि खसेको अफवाह फैलिएपछि भागदौड सुरु भएको जिल्ला प्रशासक शैलेन्द्र कुमारले एएफपीलाई बताए।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस घटनालाई ‘हृदय विदारक’ भनेका छन्। उनले प्रत्येक पीडितको परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति घोषणा गरेका छन्।
भारतका ठूला जमघट र धार्मिक चाडपर्वमा भीडभाड भई भागदौड मच्चिँदा मानवीय क्षति हुने गरेको देखिन्छ। मुख्यतया भीड व्यवस्थापनमा कमजोरीका कारण यस्ता घटना दोहोरिने गरेका पाइन्छ।
भारतको पछिल्लो सबैभन्दा धेरै मानवीय क्षति भएको घटनामध्ये सन् २०२४ मा उत्तर प्रदेशमा भएको भागदौड हो। हजारौँ भक्तहरूको धार्मिक जमघटमा भागदौड मच्चिँदा कम्तीमा १२० जनाको मृत्यु भएको थियो।- रासस/एएफपी


