राष्ट्रिय भेलाका निर्णयलाई कांग्रेसले चिन्दैन : सभापति थापा

हिमाल प्रेस १ भदौ २०८३ १८:३६ | Monday, August 17, 2026
राष्ट्रिय भेलाका निर्णयलाई कांग्रेसले चिन्दैन  : सभापति थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुकेधारामा प्रस्तुत भएका प्रस्ताव र विचारहरू पार्टीले स्वीकार नगर्ने बताएका छन्। काठमाडौँको सुकेधारमा सम्पन्न संस्थापनइतरको तीन दिने राष्ट्रिय भेलाको सन्दर्भमा उनले यस्तो बताएका हुन्।

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको समापन कार्यक्रममा सम्बोधन गदै सभापति थापाले असोजको १५ गतेदेखि पार्टीको १५ औँ महाधिवेशन सुरु हुन लागेको विषयमा आफ्ना धारणा राखे।

सभापति थापाले पार्टीको आधिकारिक दृष्टिकोण निर्माण गर्ने आफ्नै वैधानिक आधारहरू रहेको उल्लेख गरे।

उनले इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत भएको प्रस्तावहरू पार्टीले सुन्ने र सम्मान गर्ने तर त्यसलाई पार्टीको डकुमेन्ट मान्न नसकिने धारणा राखे। कांग्रेसमा भेला र छलफल पुरानो संस्कारसमेत रहेको उनले बताए।

‘कांग्रेसमा यस्ता भेलाहरू पुरानो परम्परा हो, मैले पनि यस्ता धेरै भेलाहरू गरेको छ,’ उनले भने, ‘भेलामा भएको छलफल र बहसलाई नेतृत्वमा भएका व्यक्तिले सुन्नुपर्छ।’

सभापति थापाले विशेष महाधिवेशनमा फर्जी प्रतिनिधिहरू सहभागी भएको आरोप लगाएर इतरपक्षका नेताहरू आफ्नै पार्टीका नेता कार्यकर्ताको अपमान गरेको जिकिर गरे।

थापाले असोज १५ गते पार्टीको १५ औँ महाधिवेशन हुने बताए।  ‘असोज १५ गतेदेखि १५ औँ महाधिवेशन सुरू हुन्छ, यसमा कुनै किन्तु परन्तु छैन,’ थापाले भने,‘केही क्षेत्रीय सभापति, जिल्ला सभापति राष्ट्रिय भेलामा आएको सुने। उहाँहरू आउन पाउनु हुन्छ, पार्टीको आन्तरिक कुरा हो। तर, महाधिवेशनमा कोही छुट्नु भएन भन्ने मेरो भनाइ हो।’

सभापति थापाले १५ औँ महाधिवेशनलाई साझा महाधिवेशन बनाउन तयार रहेको उल्लेख गरे। उनले अदालतमाथि आफूहरूको विश्वास रहेको बताए।

सभापति थापाले पार्टीको विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले गर्ने निर्णय स्वीकार्य हुने प्रस्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast