बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संसद्मा विश्वासको मत प्राप्त गरेका छन्।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले आचार्यलाई विश्वासको मत दिएका हुन्।
आचार्यको पक्षमा कुल ८३ प्रतिनिधिसभा सदस्य मध्ये ४५ मत परेको हो। पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।
प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए।
विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका हुन्।
प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहेका थिए।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्।
प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले भने मुख्यमन्त्री आचार्यलाई विपक्षमा मत दिएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेको हो। यसैगरी जनमत पार्टीले पनि विपक्षमा मत दिएको हो।


