भाषा, लोकसंस्कृति र जनमनका साधक दुर्गालाल श्रेष्ठ रहेनन्

हिमाल प्रेस १ भदौ २०८३ १५:०२ | Monday, August 17, 2026
10
SHARES
भाषा, लोकसंस्कृति र जनमनका साधक दुर्गालाल श्रेष्ठ रहेनन्

काठमाडौँ- नेपालभाषा र नेपाली भाषाका कवि, गीतकार, नाटककार एवं चिन्तक दुर्गालाल श्रेष्ठको निधन भएको छ। साहित्यकार प्रकाश सायमिका अनुसार श्रेष्ठको बूढानीलकण्ठस्थित निवासमा सोमबार निधन भएको हो।

श्रेष्ठ नेपाली रंगमञ्चका विशिष्ट नाटककारका रूपमा पनि परिचित थिए। उनको चर्चित नाटक ‘रामबहादुरको संसार’ नेपाली नाटकका क्षेत्रमा नौलो प्रयोगका रूपमा लिइन्छ। यही नाटकबाट मदनदास श्रेष्ठ, हरिहर शर्मालगायतका कलाकारले रंगमञ्चमा आफ्नो पहिचान बनाएका थिए।

श्रेष्ठ नेपाली गीतसंगीतका लोकप्रिय गीतकारसमेत थिए। उनका गीतहरू नारायणगोपाल, निर्मला श्रेष्ठ, प्रेमध्वज प्रधान, तारादेवीलगायतका गायकगायिकाले गाएका छन्। अम्बर गुरुङको संगीतमा निर्मला श्रेष्ठले गाएको गीत तथा न्ह्यू बज्राचार्यको संगीतमा ‘सयथरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’ जस्ता उनका गीत नेपाली संगीतका चर्चित सिर्जना हुन्।

१९९२ साल साउन कृष्ण एकादशीका दिन काठमाडौंको न्हैकन्तलामा पिता गणेशलाल श्रेष्ठ र माता आशामोतिका सुपुत्रका रूपमा जन्मिएका श्रेष्ठले नेपालभाषा र नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन्।

श्रेष्ठका ‘न्हापाँ’, ‘चिनियाम्ह किसिचा’, ‘झिगु म्ये’, ‘झसुका’, ‘लिसं’, ‘ताइभावा’, ‘निमन्त्रणा’ लगायतका कृति प्रकाशित छन्।

गाईजात्रे डबलीबाट साहित्यिक यात्रा सुरु गरेका श्रेष्ठले नाटक, गीत र कवितालाई भिन्नभिन्न विधाका रूपमा मात्र लिएनन्, तिनलाई जीवन र समाजसँग जोडिएको एउटै सिर्जनात्मक यात्राका रूपमा अघि बढाए। २००४ सालदेखि गाईजात्रे डबलीमा सक्रिय उनी १४ वर्षसम्म गाईजात्रे कार्यक्रममा सहभागी भए। नाटक लेखनकै क्रममा गीत लेख्न थालेका उनले पछि नेपाली मौलिक लोकलयलाई आफ्नो सिर्जनाको आधार बनाए।

किसानसँगको संगत र खेतमा गुञ्जिने लोकगीत तथा लयले उनलाई आफ्नै सांस्कृतिक मौलिकताको बोध गराएको थियो।

श्रेष्ठका लागि कविता भाव अभिव्यक्तिको माध्यम थिएन, लयसँगै जन्मिने सिर्जना थियो। मातृभाषामै भावको स्वाभाविक जन्म हुने उनको धारणा थियो। उनी साहित्यलाई आफूभित्रको गहिराइमा पुग्ने साधनाका रूपमा हेर्थे। साहित्यकारले समाजप्रति निष्ठावान् हुनुपर्ने र कम्तीमा आफ्नो लेखनले समाज नबिगारोस् भन्ने उनको मान्यता थियो।

आफूलाई ‘महाकवि’ बनाउने मोहभन्दा लेखनमा जीवन व्यक्त हुनुलाई उनले महत्त्व दिए।

अनुवादलाई पनि उनी सिर्जनाकै एउटा गम्भीर रूप मान्थे। मौलिक कृतिको भाव, मर्म र उचाइ जोगाउँदै अनुवाद गर्नुपर्ने उनको धारणा थियो। हरिवंश राय बच्चनको ‘मधुशाला’ र सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’ लगायतका कृतिलाई नेपालभाषामा अनुवाद गरेका उनले अनुवादले आफूलाई अर्काको संसारमा विचरण गर्न र आफ्नो दृष्टि फराकिलो बनाउन मद्दत गरेको बताएका थिए।

बालसाहित्यमा पनि उनको विशेष योगदान थियो। कन्या मन्दिरमा २३ वर्ष अध्यापन गरेका श्रेष्ठले बालबालिकासँगको निकटतालाई आफ्नो बालसाहित्य लेखनको महत्त्वपूर्ण आधार मानेका थिए।

बढ्दो उमेरसँगै लेखनको मात्रा घटे पनि सिर्जनात्मकता घटेको आफूलाई नलाग्ने उनको भनाइ थियो। उनका अनुसार कम लेख्नु कम सिर्जना गर्नु होइन, लेखन कम भए पनि त्यसमा सिर्जना मुस्कुराइरहेको हुन सक्छ।

श्रेष्ठको साहित्यिक व्यक्तित्वको अर्को महत्त्वपूर्ण पाटो उनको आत्मचिन्तन र सामाजिक चेतना थियो। उनी साहित्यको उत्कृष्टता बुद्धि, तर्क र विचारबाट प्राप्त नहुने, त्यसका लागि आफूलाई हराएर सिर्जनामा समर्पित हुनुपर्ने मान्यता राख्थे। राजनीतिक व्यवस्था फेरिए पनि जनताको जीवन र मानसिकतामा अपेक्षित परिवर्तन नआएकोप्रति उनी आलोचनात्मक थिए।

यस अर्थमा श्रेष्ठल कवि, गीतकार वा नाटककार त हुँदै हुन्, आफ्नो भाषा, लोकसंस्कृति, समाज र मानिसको अन्तर्मनसँग निरन्तर संवाद गरिरहने साहित्यिक साधक पनि हुन्। कविता, गीत, नाटक, बालसाहित्य र अनुवादका माध्यमबाट उनले नेपालभाषा र नेपाली साहित्यबीच पनि सिर्जनात्मक सम्बन्ध विस्तार गरे। ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै नेपालभाषा, नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। उनले छ दशकभन्दा लामो समय साहित्य सिर्जनामा समर्पित श्रेष्ठले कविता, गीतलगायतका विधामार्फत भाषा, संस्कृति र जनभावनालाई समृद्ध बनाउन योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

थापाले श्रेष्ठका सिर्जना र योगदान सधैँ स्मरणीय रहने बताउँदै जनकवि श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकमा समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: १ भदौ २०८३ १५:०२ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast