‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दै  रास्वपा

हिमाल प्रेस ३१ साउन २०८३ १७:४५ | Sunday, August 16, 2026
16
SHARES
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दै  रास्वपा

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने लोकतान्त्रिक मान्यतालाई व्यवहारमा उतार्दै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको रास्वपाले जनाएको छ।

कार्यक्रमअन्तर्गत पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित भएर नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्।

रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको बताए।

कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टा आमनागरिकका लागि खुला गरिनेछ। त्यसक्रममा उपस्थित मन्त्रीले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्।

दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक हुनेछ। नागरिकबाट प्राप्त सुझाव तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा बैठकमा छलफल गरिनेछ।

सचेतक परियारका अनुसार नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति तय गरिनेछ।

रास्वपाले मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा नागरिक, पार्टीको सङ्गठन, संसदीय दल र सरकारबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ३१ साउन २०८३ १७:४५ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast