मिथिलाञ्चलमा झुलोनोत्सव सुरु

हिमाल प्रेस ३० साउन २०८३ १८:२९ | Saturday, August 15, 2026
4
SHARES
मिथिलाञ्चलमा झुलोनोत्सव सुरु

काठमाडौँ- मिथिलाञ्चलमा शनिबारदेखि झुलोनोत्सव (झुला) पर्व सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि सुरु भई झुलोनोत्सव पूर्णिमासम्म जारी रहन्छ।

झुलोनोत्सवमा मठमन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीतासहित देवीदेउताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ।

मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झुलोनोत्सवको सुरुआत सन्त परम्पराको प्रारम्भदेखि भएको पौराणिक मान्यता रहेको जानकी मन्दिरमा छोटे महन्थ रामरोसन दास वैष्णवले बताए।

सन्तहरूले खुला चउर वा रुखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाएको जनविश्वासका आधारमा मिथिलामा अहिलेसम्म पनि झुला उत्सवलाई निकै महत्वका साथ हेर्ने गरिएको उनको भनाइ छ।

मिथिलाका प्रत्येक मठ मन्दिरमा झुलोनोत्सव मनाउने गरिए पनि जनकपुरधामको मठ मन्दिर आकर्षणको केन्द्रका रूपमा मानिन्छ।

झुलोनोत्सवमा विशेषगरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा रहँदै आएको छ।

जानकी मन्दिरसहित विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ।

यस उत्सवमा जनकपुरधामका मन्दिरबीच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ। एकातर्फ भगवान् राम र जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोक कथा सुनाइने गरिन्छ।

प्रकाशित: ३० साउन २०८३ १८:२९ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast