काठमाडौँ- भारतले शनिबार (अगस्ट १५) ८०औँ स्वतन्त्रता दिवस मनाईरहेको छ। यसअवसरमा नेपालसँगको सम्बन्धलाई परम्परागत सहकार्यका क्षेत्रबाट नयाँ र उदीयमान क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धता भारतले दोहोर्याएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध व्यापार, वाणिज्य, ऊर्जा, पूर्वाधार, शिक्षा, संस्कृति तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा निरन्तर बलियो बन्दै गएको बताएका छन्। राजदूतको सन्देशमा पछिल्लो एक वर्षमा नेपालमा भएका महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई उल्लेख गर्दै बदलिँदो परिस्थितिका बीच पनि नेपाल-भारत सम्बन्ध र सहकार्यले निरन्तरता पाएको उल्लेख छ।
निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बहुमतको सरकार गठन भएको प्रसंगसमेत सन्देशमा समेटिएको छ। यसै सन्दर्भमा अगस्ट १० मा राजदूत श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई शिष्टाचार भेट गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्ध, विकास साझेदारी र आपसी हितका विषयमा छलफल भएको थियो।

राजदूतले प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना समेत हस्तान्तरण गरेका थिए। विश्वव्यापी अवरोधका बाबजुद नेपालमा इन्धन तथा अन्य अत्यावश्यक वस्तुको निर्बाध आपूर्ति कायम राख्न भारतले सहयोग गरेको सन्देशमा उल्लेख छ। भारतले नेपालसँगको व्यापार र पारवहन सहज बनाउन पूर्वाधार तथा कनेक्टिभिटीका परियोजनालाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।
सडक, पुल तथा रेल सम्पर्क विस्तारले दुई देशबीचका नागरिकको आवागमन र व्यापारिक गतिविधि सहज बनाएको भारतीय दूतावासले जारी गरेको एक दूतावास सप्लिमेन्टमा उल्लेख छ।
विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलमार्फत कार्गो ढुवानी सुरु हुनु दुई देशबीचको व्यापारिक सम्पर्क विस्तारको महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
सन्देशमा भारतको विकास सहकार्यअन्तर्गत नेपालमा सञ्चालित विभिन्न परियोजनाको उद्घाटन तथा हस्तान्तरणलाई पनि प्राथमिकताका साथ उल्लेख गरिएको छ। स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार तथा सांस्कृतिक सम्पदा संरक्षणलगायतका क्षेत्रमा भारतीय सहयोग जारी रहेको जनाइएको छ। त्यस्तै, नेपाल-भारत सहकार्य अब परम्परागत क्षेत्रमै सीमित नरहेको सन्देशमा उल्लेख छ।
स्टार्टअप, कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि, नवीकरणीय ऊर्जा, कृषि, स्वास्थ्य, अन्तरिक्ष तथा खेलकुदजस्ता नयाँ क्षेत्रमा समेत दुई देशबीच सहकार्य र अन्तर्क्रिया विस्तार भइरहेको जनाइएको छ। क्रिकेटसहित खेलकुदका क्षेत्रमा सहकार्य बढाउने प्रयास भइरहेको उल्लेख छ।
नेपाल र भारतबीच ऊर्जा सहकार्यलाई पनि सम्बन्धको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको छ। नेपालबाट भारततर्फ विद्युत् निर्यात तथा ऊर्जा परियोजनाको विकासले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप गहिरो बनाइरहेको भारतीय पक्षको भनाइ छ।

सांस्कृतिक सम्बन्धलाई पनि दुई देशको सम्बन्धको बलियो पक्षका रूपमा चित्रण गरिएको छ। नेपालमा रहेका भारतीय समुदायले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राजदूतले उनीहरूको योगदानको प्रशंसा गरेका छन्।
स्वतन्त्रता दिवसको तयारीका क्रममा भारतीय दूतावासले काठमाडौंमा ‘विकसित भारत रन’, चित्रकला प्रतियोगिता, अन्तर-विद्यालय क्विजलगायतका कार्यक्रम आयोजना गरेको थियो। हार् घर तिरंगा अभियान र सूर्यपथ तिरंगा रिले जस्ता गतिविधि पनि चलाइएको छ। स्वतन्त्रता दिवसको अवसरमा दूतावासमा नेपालमा रहेका भारतीय नागरिक र शुभचिन्तकको सहभागिता रहेको छ। दूतावास प्राङ्गणमा झन्डोत्तोलन गर्दै राष्ट्र एवं सरकार प्रमुखको सन्देश पढेर सुनाउने काम भएबरको थियो। साथै दिवसका अवसरमा सहयोग समेत हस्तान्तरण गर्ने काम पनि भएको छ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रकाशित सप्लिमेन्टमा रक्षा, वाणिज्य, विकास, संस्कृति, शिक्षा, आर्थिक तथा ऊर्जा सहकार्यलाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
यसले नेपाल-भारत सम्बन्धलाई बहुआयामिक र व्यापक साझेदारीका रूपमा अघि बढाउने भारतीय दृष्टिकोणलाई देखाउँछ। राजदूतले ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालमा रहेका भारतीय नागरिक तथा नेपाली मित्रहरूलाई शुभकामना दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन्।


