काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालयमा आयोजित ग्रीन टेवल–चलचित्र बहस कार्यक्रममा सभापति थापाले नागरिकहरू केही नयाँ गर्न खोज्दैछन् भने राज्यले नियन्त्रण गर्ने भन्दा पनि उनीहरूको कामलाई प्रवद्र्धन र सहयोग गर्ने सोच राख्नुपर्ने बताएका हुन्।
सरकारमा बस्नेबित्तिकै नागरिक तथा व्यवसायीहरूलाई ‘खराब गर्छन्’ भन्दै डन्डा देखाएर नियन्त्रण गर्न खोज्ने सोच गलत रहेको उनको भनाइ छ। उनले चलचित्र क्षेत्रमा एआईको प्रयोग बढ्दै जाँदा यसले निम्त्याउने चुनौतीहरू मात्र नभई यसले सिर्जना गर्ने ठूला अवसरहरूलाई पनि आत्मसात् गर्नुपर्नेमा जाृड दिए।
प्रविधिको तीव्र विकाससँगै आवश्यक नीति–नियम र कानुन समयमै बनाउनुपर्ने खाँचो रहेको उनको भनाइ छ। यस विषयमा सांसदहरू, विज्ञहरू र सम्बन्धित पक्षहरू सम्मिलित सानो कार्यदल बनाएर विस्तृत छलफल गर्ने उनले बताए।
यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार १२ जनाले आ–आफ्नो धारणा राखेका छन्। बैठकमा पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा उपसभापति विश्वप्रकाश शर्मा, सहमहामन्त्री बहादुरसिंह लामा, केन्द्रीय सदस्यहरू रमेश रिजाल, सुजाता कोइराला, अर्जुनप्रसाद जोशीलगायतले धारणा राखेको कांग्रेसले जनाएको छ।


