बुटवल- यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ।
बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो।
विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले सभेन एसाईड प्रतियोगिता गर्न लागेको जनाएको छ।
बुटवल ११ स्थित एन्फा एकेडेमिको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए।
प्रतियोगितामा उपविजेताले नगद ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्रले पुस्कृत हुनेछन्।
प्राचार्य भण्डारीले ज्ञानपुञ्जले कम्तीमा एउटा खेललाई प्राथमिकतामा राखी सभेन ए साईड प्रतियोगिता सुरु गरिएको बताए। उनले कुनै एक खेललाई नियमित रुपमा सञ्चालन गर्दा स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको खेलकुद विकासमा योगदान पुग्ने बताए।
खेलकुदलाई केवल मनोरञ्जन वा अतिरिक्त क्रियाकलापका रुपमा नभई विद्यार्थीको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन, नेतृत्व क्षमता विकास गर्ने शैक्षिक माध्यमका रुपमा लिइएको बताए।
यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपर र म्यान आफ दी म्याचलाई नगदसहित पुरस्कृत गरिने विद्यालयले जनाएको छ।
पत्रकार सम्मेलनमा प्राचार्य भण्डारीले २०६२ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय नयाँ व्यवस्थापन प्रारम्भसँगै शैक्षिक प्रणालीलाई समय, प्रविधि र विद्यार्थीको बदलिदो आवश्यकता अनुकुल रुपान्तरण अभियान थालिएको बताए।
विद्यालयले नमूना संसद, नमूना संयुक्त राष्ट्रसंघ तथा नमूना न्यायपालिका, गेष्ट अफ दी मन्थ, असल अभिभावक कार्यशाला, शिक्षक विद्यार्थी र विशिष्ट व्यक्तिविच अन्तरसंवाद जस्ता नविन अभ्यासका कार्यक्रम गर्ने गरेको प्राचार्य भण्डारीले बताए।
पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले विद्यालयमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्टराई, सहप्राचार्य भिम बस्नेत, प्रायोजक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। भदौ १ गतेदेखि सुरु हुने प्रतियोगिता ८ गतेसम्म चल्ने छ।


