काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन र समुन्नतिको यात्रालाई गति दिन पार्टीभित्र बलियो एकता आवश्यक रहेको बताएका छन्।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले कांग्रेसको आन्तरिक सुदृढीकरण नै अहिलेको प्रमुख आवश्यकता भएको बताए।
पार्टीभित्र देखिएका विभिन्न प्रतिकूलता र मतभिन्नताका बाबजुद कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। विशेष महाधिवेशनमा कार्यकर्ता तहबाट व्यक्त भएको भावना र दृढताका आधारमा पार्टी आगामी दिनमा थप सशक्त बन्ने उनको विश्वास थियो।
नेताकार्यकर्ताबीचको व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्नुपर्ने भए पनि व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने शर्माले बताए।
‘व्यक्ति र संस्थाप्रतिको निष्ठामध्ये चयन गर्नुपर्ने अवस्था आए पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ। व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु,’ उनले भने।
पार्टीभित्रको आन्तरिक विषयमा आफूहरूले समयमै लिखित प्रस्तावसमेत अघि सारेको शर्माले बताए। ‘हामीले जेठ १६ गते नै सातबुँदे लिखित प्रस्ताव नेताहरू समक्ष पठाएका थियौं। पार्टीभित्रको आन्तरिक विषय भएकाले संयम र परिपक्वता देखाउन त्यसबेला यसलाई गोप्य राखिएको थियो। पछि जेठ ३१ गते सार्वजनिक गरिएको हो,’ उनले भने।
गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेको घटनालाई कुनै पक्षको जित वा हारका रूपमा लिन नहुने उनको भनाइ थियो ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सशक्त राष्ट्रिय शक्तिका रूपमा भूमिका निर्वाह गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको शर्माले बताए।
‘विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्ने कुरामा म पूर्ण दृढ छु,’ उनले भने।


