काठमाडौँ- नेपाली हास्यव्यंग्य क्षेत्रका वरिष्ठ सर्जक भैरव अर्यालको स्मृतिमा भैरव पुरस्कार गुठी तथा भैरव स्मृति पुस्तकालयको संयोजकत्वमा यही साउनखि स्कुलस्कुलमा भैरव अर्यालबारे अन्तरक्रिया थालनी गरिएको छ। कार्यक्रमअन्तर्गत सरस्वती विद्यालय, बेसीगाउँ जोरपाटी तथा जिनियस विद्यालय, सुन्दरीजलका विद्यार्थीबीच बेग्लाबेग्लै अन्तरक्रियात्मक साहित्यिक कार्यक्रम सम्पन गरिएका छन्।
भैरव अर्यालको व्यक्तित्व र कृतित्व एवं नेपाली भाषा र साहित्यबारे गैरसरकारीस्तरमा पहिलो पटक विद्यालय तहका विद्यार्थीहरुलाई परिचित गराउने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रममा पहिलो चरणमा अर्यालका हास्यव्यंग्य लेखनका विषयमा विद्यार्थी र नेपाली साहित्यकारहरूबीच अन्तरक्रिया गराउने लक्ष्य राखिएको छ।
यसै क्रममा साउन १२ गते सरस्वती विद्यालयका विद्यार्थी र साहित्यकारबीच आयोजना गरिएको पहिलो अन्तरक्रिया कार्यक्रममा उक्त विद्यालयका १० जना विद्यार्थीले भैरव अर्यालको कृति ‘प्रवेशिका निबन्ध’मा संग्रहित निबन्धबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। कार्यक्रममा साहित्यकार वसन्त रिजाल, गोपाल बराल, रमेशप्रसाद खनाल र मेनुका आचार्यले भैरवका हास्यव्यंग्य लेखन र तिनका विशेषताबारे प्रकाश पारेका थिए।
दोस्रो कार्यक्रम साउन २८ गते जिनियस विद्यालयमा आयोजना गरियो। सो अवसरमा उक्त विद्यालयका विद्यार्थीहरू सौरभ पौडेल, प्रदीप डोटेल, मिङ्मा भोटे, पार्वती दुलाल र श्रेया थपलियाले भैरव अर्यालको कृति ‘प्रवेशिका निबन्ध’ मा संगृहीत पाँच निबन्धका विषयमा आआफ्नो विचार प्रस्तुत गरेका थिए। कार्यक्रममा साहित्यकार वसन्त रिजाल, विमल अर्याल, उद्धव रायमाझी र रमेशप्रसाद खनालले भैरवका कृतित्व र व्यक्तित्वका विभिन्न पक्षबारे विस्तृत रुपमा प्रकाश पारेका थिए।
सोही विद्यालयका विद्यार्थी सुयसा श्रेष्ठद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा सहप्रध्यानाध्यापक धीरज खड्काले धन्यवाद ज्ञापन गरेका थिए।


