देउवाको अभिभावकीय भूमिका खोज्दै सानेपा

हिमाल प्रेस २८ साउन २०८३ १९:२३ | Thursday, August 13, 2026
14
SHARES
देउवाको अभिभावकीय भूमिका खोज्दै सानेपा बिहीबार पार्टी कार्यालय सानेपमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक।

काठमाडौँ- नेपाली कांग्रेसले उपचार पश्चात् स्वदेश फिर्ता भएका पार्टीका निर्वतमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्दै निरन्तर स्वास्थ्य लाभको कामना गरेको छ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको योगदानको उच्च मूल्यांकन गर्दै पार्टीको संस्थागत रूपान्तरण र सुदृढीकरणमा उनको अनुभव र अभिभावकीय भूमिका उपयोगी हुने विश्वास समेत व्यक्त गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

त्यस्तै बैठकले पत्रकार किशोर श्रेष्ठमाथि भएको धरपकड र गैरकानुनी गिरफ्तारीप्रति आपत्ति र निन्दा गरेको छ। कुनै दोष भएमा न्यायिक तथा कानुनी प्रक्रिया वा प्रेस काउन्सेलमार्फत निरूपण हुनुपर्नेमा, नागरिक स्वतन्त्रता कुण्ठित पार्ने र प्रेसको घाँटी निमोट्ने सत्ताको दमनकारी व्यवहार अस्वीकार्य रहेको बैठकको ठहर रहेको प्रवक्ता चालिसले बताए।

बैठकले सार्वजनिक लेखा समितिमा सत्तारूढ दलका सांसदहरूबाट असंसदीय, अलोकतान्त्रिक र अशोभनीय भाषा÷व्यवहार भएको भन्दै गम्भीर असहमति प्रकट गरेको छ।

कांग्रेसका सबै सांसदहरूलाई संसद्मा आवेग वा उत्तेजनामा नआई, मर्यादित, शिष्ट र जिम्मेवार भएर लोकतन्त्रका उच्चतम मूल्य–मान्यता अनुकूल प्रस्तुत हुन निर्देशन दिइएको प्रवक्ता चालिसले जानकारी दिए।

साथै बैठकले रोल्पामा भएको प्राकृतिक विपद्मा नागरिकको मृत्यु र बेपत्ता भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ताहरूको शीघ्र खोजी गर्न, पीडितलाई यथोचित बसोबास, राहत उपलब्ध गराउन माग गरेको छ।

पार्टीका आन्तरिक विषयलगायतका एजेण्डामाथि शुक्रबार पनि निरन्तर छलफल हुने प्रवक्ता चालिसेले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast