रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

हिमाल प्रेस २८ साउन २०८३ १६:५८ | Thursday, August 13, 2026
22
SHARES
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। बुधबार बेलुका गएको पहिरोमा परी पाँच जना अझै बेपत्ता छन्।

पहिरोमा परी सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तिमगर घाइते भएका छन्। उनीहरूलाई थवाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षासँगै लेदोसहितको पहिरो आउने क्रम नरोकिएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा बेपत्ता भएकाहरूको शवमध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिका क्षेत्रमा पर्ने माडी खोलाको किनारमा फेला परेको थियो। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली परिचालन गरी खोजी भइरहेको छ।

हाल बेपत्ता हुनेमा थवाङ-५ का ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्। पहिरोले मृतक कमलबहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठ पुरिएका छन्। घर तथा गोठमा रहेका पशुचौपाया समेत बेपत्ता भएको प्रहरीले जनाएको छ।

‘लगातार वर्षा भइरहेकाले माथिबाट लेदोसहित पहिरो आउने क्रम जारी छ। त्यसले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ,’ सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले भने।

प्रकाशित: २८ साउन २०८३ १६:५८ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast