काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूसँग राजा ज्ञानेन्द्रले नसकेको बताउँदै अरुले नसक्ने दाबी गरेका छन्।
बिहीबार स्वदेश फर्किएपछि कांग्रेस संस्थापनइरत पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टीका नेताकार्यतालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
‘राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ,’ देउवाले भने,‘राजा ज्ञानेन्द्रको कुरा गर्ने हो भने संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र। जनताले ल्याएको गणतन्त्र हो।’
नेपाली जनता सबैभन्दा ठूलो कुरा रहेको बताउँदै उनले जनता मालिक रहेको जिकिर गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूलाई अदालतमाथि पूर्ण विश्वास रहेको बताए।
‘यो देशको जनता छ, अदालत छ, सबले जानेको छ, बुझेको छ, तिनीहरूलाई भोलि हामीले देखाएर छोड्छौँ,’ देउवाले भने,‘अहिलेमात्र होइन, पञ्चायतकालदेखि न्याय दिएको अदालत हो। अदालतमाथि मलाई पूरा विश्वास छ, भोलि गएर हामी लड्ने छौँ।’
आफूविरूद्ध विदेशको अदालतमा मुद्दा हाले पनि अदालतले पक्राउ गर्न तयार नभएको उनले उल्लेख गरे।
‘मलाई अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले। त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुरलाई पक्राउ गर्दैनौँ भन्यो। उसको वाइफ र उसलाई पक्राउ गर्दैनौँ भन्यो,’ देउवाले भने,‘यहीँ पनि मुद्दा हाल्यो। फटाहा छनु यहाँ।’
उनले नेपालको अदालतले समेत आफू र पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्नु भनेर आदेश दिएको बताए। सम्पत्ति शुद्धीकरण आयोग लगाएर पटकपटक आफूविरूद्ध मुद्दा चलाउन खोजिएको पनि देउवाले बताए।


