काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न जिल्लाका नदीको प्रभाव बढ्ने छ। महाशाखाका अनुसार ठूलो नदी नियन्त्रणमै रहे पनि सामान्य खोलाको बाढीको जोखिम आज उच्च छ।
बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि पानीको सतह खतराको तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। ठुला नदीमा जोखिम कम देखिए पनि आज विभिन्न १२ जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला, दैलेख र आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने छ। ती क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।


